फाइल तस्बिर
काठमाडौं- नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोलीले जित निकाले पनि आफू सन्तुष्ट हुन नसकेको बताएका छन्।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए। ‘साफपछिको नेपाली खेलाडीहरुले मुटुबाट खेले। जित महत्त्वपूर्ण छ, तर म सन्तुष्ट छैन,’ उनले भने।
फरवार्ड विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको हो। यो नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा जित निकालेको हो। नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन।
नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिबन्ध र चोटबाट करिब तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेको विमल पहिलो खेलमै गोल गर्न सफल भए। उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन्। यससँगै विमलको राष्ट्रिय टोलीमा गोल संख्या ९ पुगेको छ।
मुख्य प्रशिक्षक अल्मुताइरीले विमलबाट आफूले अझ धेरै अपेक्षा गरेको बताए। ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन्। गोल गरे, खुसी छु। तर, उनी धेरै महत्त्वपूर्ण छन्। त्यसैले उनीबाट धेरै अपेक्षा गरेको छु,’ उनले भने,‘मेरो पहिलो जागिर भनेको खेलाडीलाई जोगाउने हो। हामी एउटा खेलाडीमा मात्र केन्द्रित हुँदैनौं। विमल कम्फर्टेबल भएर अर्को म्याचमा केन्द्रित हुनेछन्। उसले गोल गर्यो तर डर छ यो गोलले उसलाई फेरि पछि नपारोस्।’

मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा केही खेलाडी परिवर्तन गर्ने बताएका छन्। शनिबारको खेलमा प्रशिक्षक अल्मुताइरीले अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी, सुमन लामा, देवेन्द्र तामाङ, दिनेश राजवंशी र किरणकुमार लिम्बू जस्ता पहिलो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए।
दोस्रो हाफमा जगजित श्रेष्ठ, मनिष डाँगी, सुदीप गुरुङलगायतका खेलाडीलाई मैदान प्रवेश गराएर आक्रामक खेल खेल्ने प्रयास गरेका थिए। सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीपले शनिबार मोरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

सुदीप ८५औं मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा प्रवेश गरेका थिए। सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यू गर्न सफल भए।
यस्तै, एन्फा एकेडेमीका आकाश थापा मगरले पनि राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थान लिएका थिए। सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाशलाई प्रशिक्षक अल्मुताइरीले डेब्यू गराएका हुन्।
नेपालको यू-१५, यू-१८, यू-१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू-१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थिए। मुख्य प्रशिक्षक अल्मुताइरीले देवेन्द्रले केही गल्ती गरे पनि धेरैबाट जोगाएको प्ररतिकृया दिए। ‘एसिया कप र विश्वकप छनोट २०२६ हाम्रो लागि महत्वपूर्ण हो। सबै खेलेका खेलाडीबारे भन्छु हरेकले मिस्टेकबाट सिक्छन्,’ उनले भने,‘देवेन्द्रले केही गल्ती गरे र धेरैबाट जोगाए पनि।’
मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए। उनले आफूहरुको केही गल्तीको फाइदा नेपालले उठाएको स्वीकार गरे।
‘टफ म्याच भयो। नेपालले राम्रो खेल्यो। हाम्रो खेलाडीले राम्रो खेले। तर, हामी विपक्षी पर्खेर बस्यौं। हामीले नेपाललाई गोल गर्ने अवसर दियौं,’ उनले भने, ‘हामीले गोलको केही अवसर सिर्जना गरेका थियौं। तर, नेपालको गोलकिपरले राम्रो बचाउ गरे, हामीले गोल गर्न सकेनौं।’
उनका अनुसार यदि दोस्रो हाफको सुरुमा आफ्ना खेलाडीले गोल गरेको भए खेलको नतिजा फरक हुन सक्थ्यो। 'हामीले अढाइ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौं। यसका लागि ४५ दिनको तयारी गरेका थियो। सायद राम्रो खेल खेल्यौं आज। पहिलो टोलीमा चार खेलाडी थिएनन्। त्यसले पनि केही असर गर्यो,’ फ्रान्कोइसले भने।
४७औं मिनेटमा मरिससका फर्नाडो ज्याकसनले गोलको अवसर गुमाएका थिए। उनको प्रहारलाई गोलरक्षक किरणले ड्राइभ गर्दै सहजै बचाए। मरिससका चार खेलाडीलाई कोरोना संक्रमण भएको छ। उनीहरु हाल आइसोलेसनमा रहेका छन्। उनीहरु मंगलबार हुने दोस्रो खेलमा मैदान उत्रिने छन्।
‘आजको खेलमा महत्वपूर्ण चार जना खेलाडीबिनै उत्रिएका थियौं। आगामी खेलमा उनीहरुलाई मैदानमा उतार्दा अझ खेल राम्रो हुनेछ,’ उनले भने,‘उनीहरुको उपस्थितिले खेल फरक पार्न सक्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।