काठमाडौं- अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बागमती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ।
सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो।
यसअघि बारम्बार सार्वजनिक सूचनामार्फत सूचित गर्दा पनि वेवास्ता गरी हालसम्म खाली नगरेको भन्दै समितिले तीन दिनभित्र हटाउन र सात दिन स्थायी संरचना खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले संरचना हटाउने कार्य अघि बढाउने सूचनामा उल्लेख छ।
यसरी उक्त क्षेत्र खाली गर्दा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल गर्ने आयोजनाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।