काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार (मंसिर ३ गते) स्वर्गीय मुक्तिनाथ अधिकारीका छोरा सुमनलाई फोन गरे। सुरुमा त उनले एमाले अध्यक्ष ओलीले फोन गरेको कुरा विश्वास गर्नै सकेनन्। किनकि, उनी प्रधानमन्त्री हुँदा सुमन भेटका लागि धेरै पटक बालुवाटार पुगेका थिए। तर, भेट्न नपाउँदा निराश भएर फर्किनु परेको थियो।
उनी तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेर सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा कुरा राख्न चाहन्थेँ। त्यो मौका भने कहिल्यै पाएनन्। आफ्ना कुरा सचिवालयलाई सुनाएर फर्किन्थे। सचिवालयले प्रधानमन्त्रीलाई जानकारी दिने आश्वासन दिने गरेको थियो। जानकारी दिइयो वा दिइएन भन्ने पनि उनले थाहा पाएनन्।
उनै ओलीले सोमबार एक्कासी फोन गर्दा उनलाई पत्याउन गाह्रो भएको हो। तर, फोन ओलीकै थियो। उनले तत्कालीन शिक्षक तथा सुमनका बाबु मुक्तिनाथ अधिकारीको हत्या भएको २० वर्ष पुगेको दिन फोन गरेका थिए।
अधिकारीलाई तत्कालीन नेकपा माओवादीले २०५८ माघ ३ गते हत्या गरेको थियो। त्यतिबेलाको माओवादी विभिन्न एकता र फुट बेहोर्दै नेकपा माओवादी केन्द्र बनेको छ र नेतृत्वमा उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। २०७४ सालको आमनिर्वाचनमा एमालेले त्यही माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि दुई पार्टीको गठबन्धनले बहुमत ल्याएको थियो र ओली प्रधानमन्त्री बनेका थिए।
त्यसको केही समयपछि नै माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएर नेकपा बन्यो। नेकपाका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले सुमनलाई भेटका लागि समय नै दिएनन्। नेकपाका अर्का अध्यक्ष प्रचण्ड थिए।
तर, नेकपालाई सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेमा नै फर्काइदियो। त्यसअघि नै तत्कालीन नेकपाभित्रको विवादले ओली र प्रचण्डको सम्बन्ध बिग्रिसकेको थियो। पुरानै पार्टी ब्युँतिएपछि सार्वजनिक भाषणमा ओली र प्रचण्ड एक–अर्काप्रति आक्रामक हुने गरेका छन्। यही पृष्ठभूमिमा ओलीले सोमबार मुक्तिनाथ अधिकारी हत्याको २० वर्ष पूरा भएको दिन सम्झिएर छोरा सुमनलाई फोन गरेका थिए।
ओलीले पछिल्लो समय एमाले महाधिवेशनबाट सशस्त्र युद्धमा व्यक्ति हत्या गरेको प्रमाणित भएका बालकृष्ण ढुंगेललाई केन्द्रीय नेतृत्वमा ल्याएका छन्। ओखलढुङगाका ढुंगेल महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकले ओलीकै प्रस्तावमा उनलाई पोलिटब्युरो सदस्य बनाएको छ।
तत्कालीन माओवादीले हत्या गरेको अवस्थामा मुक्तिनाथ अधिकारी।
ढुंगेललाई केन्द्रीय कमिटीले मनोनीत गर्ने कोटाबाट महाधिवेशन प्रतिनिधि बनाइएको थियो। उनी ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भएका थिए। कैद भुक्तान गरेर निस्किएपछि उनी एमाले प्रवेश गरेका थिए। माओवादी केन्द्रमा उनी केन्द्रीय सदस्य थिए।
सशस्त्र युद्धमा व्यक्ति हत्याका दोषीलाई पार्टीमा भित्र्याएर संरक्षण गरिरहेका ओलीले फोन गरेर सदासयता देखाएपछि सुमनले धन्यवाद दिएका थिए। तर, हत्याका दोषीहरूसँग उठबस गर्ने र संरक्षण गर्ने ओलीको कार्यशैलीप्रति उनी असन्तुष्ट छन्। सरकारमा हुँदा ऐन संसोधन गरी सत्य निरुपणका लागि विश्वसनीय आयोग बनाउन नेताहरूले बेवास्ता गरेको उनले बताए।
ओलीले फोन गरिरहँदा सुमनको छेउमै बसेर मुक्तिनाथकी श्रीमती इन्दिराले पनि कुराकानी सुनिरहेकी थिइन्। उनले आफ्ना श्रीमानका हत्यारालाई कारबाही हुने आश्वासन पाएको वर्षौँ भइसकेको छ। ‘हामीलाई सबैले यही एक दिन सदासयता देखाउँछन्। तर, मेरो पतिको हत्या किन र के कारणले गरियो कसैले भन्दैनन्’, उनले भनिन्, ‘सबैले बलेको आगो मात्र ताप्ने रहेछन्। हामी त न्याय माग्दामाग्दा खरानी भइसकेका छौँ।’
लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत माविका प्रधानाध्यापक थिए, मुक्तिनाथ। उनी विज्ञान र गणित विषय पढाउँथे। तत्कालीन माओवादीले उनलाई कक्षाबाटै अपहरण गरेर लगेका थिए। २०५८ मंसिर ३ मा कक्षा १० मा विज्ञान विषय पढाउँदै गर्दा करिब १ बजे उनको अपहरण गरिएको थियो।
उनीमाथि चन्दा नदिएको र स्थानीय माओवादी नेताको हत्याका लागि सुराकी गरेको आरोप लगाइएको थियो। कक्षाभित्रै छिरेर उनको हात पछाडि लगेर डोरीले बाँधी माओवादी कार्यकर्ताले घिच्याउँदै लगेका थिए। उनलाई आफ्नै घरको बाटो लगेर केही तल पुर्याएपछि उत्तिसको रुखमा बाँधेर हत्या गरेका थिए। उनको टाउकोमा गोली हानिएको थियो भने छाती र पेटमा चुप्पी रोपिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।