काठमाडौं– नेपालका लागि अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्कले अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माण गर्नेबारे पहल गर्ने बताएकी छन्।
शुक्रबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटवार्तामा राजदूत भोल्कले नेपाललाई आवश्यक सहयोग गर्न अस्ट्रेलिया सदैव तयार रहेको पनि बताइन्।
गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।
भेटमा गृहमन्त्री खाणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरे।
त्यस्तै, नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए।
‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्ट्रेलियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाइका अलवा हप्तामा २० घण्टा काम गर्न पाउँछन्। त्यो समय केही बढाउने बातावरण मिलाउन पनि आग्रह छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।