काठमाडौं– नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुने प्रतिवद्धतासहित नेपाल पत्रकार महासंघको उपाध्यक्षबाट राजीनामा दिएकी बाला अधिकारी पुनः महासंघमै फर्केकी छन्।
कपिलवस्तुको तिलौराकोटमा भएको महासंघको पूर्ण बैठकमा उनी सहभागी भएकी छन्। ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिमा चयन भएपछि उनले सामाजिक सञ्जालमार्फत महासंघको उपाध्यक्षबाट राजीनामा दिएकी थिइन्। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएकाले आफूले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको उनले स्टेटसमा उल्लेख गरेकी थिइन्।
‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर,’ उनले तत्कालीन समयमा लेखेकी थिइन्।

पार्टी राजनीति गर्नेले महासंघको सदस्य हुन नपाउने विधानमा व्यवस्था छ। पत्रकार महासंघ र पत्रकार आचारसंहिता पालना गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको हेक्का रहेको समेत उनले स्टेटसमा लेखेकी थिइन्। हाल उक्त स्टेटस अधिकारीले डिलिट गरेकी छन्।
महासंघको उपाध्यक्षबाट राजीनामा दिएर बैठकमा उपस्थित भएकोप्रति महासंघका सदस्यहरुले प्रश्न उठाएका छन्। नेतृत्वसँग जवाफ माग्दै केन्द्रीय सदस्यहरुले अधिकारीको बारेमा धारणा माग गरेका छन्। ‘यो बैठकमा अधिकारी के हैसियतमा उपस्थित हुन भएको हो, त्यो स्पष्ट हुन आवश्यक छ। कि विधानमा रहेको व्यवस्था हटाऔं कि त्यस्ता महासंघका पदाधिकारी वा सदस्यलाई हटाऔं,’ केन्द्रीय सदस्यहरुले विज्ञप्ति मार्फत जवाफ मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।