काठमाडौं– नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन्। कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) समेत रहेका विष्ट अर्का उम्मेदवार वीर बहादुर थापा (पातल)लाई हराएर अध्यक्ष निर्वाचित भएका हुन्।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा थापा कञ्चनपुर अध्यक्ष थिए। सर्वोच्चको फैसलानुसार दुई पार्टीको एकता भंग हुँदा माओवादी केन्द्र परित्याग गरी एमाले रोजेका थापा एमाले कञ्चनपुरकै जिम्मेवारीमा रहेका थिए।
निर्वाचनमार्फत् नेतृत्व चयन हुँदा थापा विष्टसँग ९८ मतले पराजित भए। विष्टले २८१ मत ल्याए भने थापाले १८३ मत ल्याए।
अध्यक्षसहित पदाधिकारीमा विष्टको प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा विष्ट प्यानलकी लक्ष्मी बुढा २८१ मत ल्याएर विजयी भएकी छन्। थापा प्यानलबाट उपाध्यक्षका उम्मेदवार रहेका महेश पन्तले २०५ मत ल्याए।
यस्तै, सचिवमा पल्लब भट्ट २३३ मतसहित विजयी भए भने पराजित अशोक चन्दले २२६ मत ल्याए।
उपसचिवमा कर्ण चन्द ३४७ मत ल्याएर विजयी भए। यस्तै, फैरु तामाङले २९६ मत ल्याएर विजयी भए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षकै दुई समूहका नेताहरु विष्ट र थापालाई अध्यक्ष विजयी गराउन लागेका थिए।
विष्टका पक्षमा पोलिट्ब्यूरो सदस्य एवम् कंचनपुर इञ्जार्ज निरु पाल, सह–इन्चार्ज नर बहादुर धामी, कृपाराम राना र कमला बोहरासहित पोलिटब्यूरो सदस्य राजेन्द्र रावल थिए।
थापाका पक्षमा पूर्व माओवादी नेता एवम् एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट, नेता कर्ण थापा, सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी थिए।
भट्ट, थापा र भण्डारीले सर्वसम्मतिमै थापालाई अध्यक्ष बनाउने प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।