काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलको गृहजिल्ला अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै बोहरा निर्वाचित भएका हुन्।
बोहरा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकटका हुन्। बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे। अध्यक्षबाहेकका अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। बोहरा ओली र शाहले रावलपक्षमा प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
उपाध्यक्ष पदमा भीमबहादुर बिष्टलाई पराजित गर्दै बलबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन्।
सचिवमा आदर्श साउँदलाई १९५ मतले पछि पार्दै भीम रावल विजयी भएका छन्। रावलले ४ सय ५३ मत पाउँदा साउँदले २ सय ५८ मत पाएका छन्।
यस्तै, प्रेमबहादुर महर र डम्बरबहादुर बिसी विजयी भएका छन्। बिसी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए। अन्य सदस्य पदको मतगणना राति नै सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।