काठमाडौं–स्याङ्जामा चक्कु प्रहारबाट १६ महिने बालकको हत्या भएको छ। उनकी दिदी ५ वर्षीया बालिका भने घाइते भएकी छिन्।
हत्याको आरोपमा ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रणनायक गुरुङका १६ महिने छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको पाइएको स्याङ्जाका एसपी राजिवबहादुर बस्नेतले बताए। गम्भीर घाइते साइमनलाई स्वास्थ्य चौकी वालिङ पुर्याइएकोमा स्वास्थ्य चौकीले मृत घोषित गरेको थियो।
त्यसैगरी प्रणनायककै ५ वर्षीया छोरी साइनालाई पनि जितेन्द्रले चक्कु प्रहार गरेको एसपी बस्नेतले बताए। उनको पनि घाटीमा चोट लागेको र अवस्था सामान्य रहेको छ। एसपी बस्नेतका अनुसार जितेन्द्र र प्रणनायक वालिङ भकुण्डेमा एउटै घरमा छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका व्यक्ति हुन्।
हत्या आरोपमा पक्राउ परेका जितेन्द्रको मानसिक अवस्था ठीक नभएको भन्ने खबर आएको र सोही कारणले उनले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।