काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको थियो। पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ्, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर कोडबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन्।
आज एक कार्यक्रमकाबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले मेसिनको जडान गरिएको बताए। ‘किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ। यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुन्छ,’उनले भने।
प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउँदा खुशी भएको बताए।
उनले मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढी लाभान्वित हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।