काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले आसन्न रूपन्देही क्रिकेट संघको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत् उनले आफू संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन्। रूपन्देही क्रिकेट संघको निर्वाचन ५ माघमा हुँदै छ।
‘क्रिकेट खेल र खेलाडीका निमित्त नयाँ सोच र भिजन लिएर रूपन्देही जिल्लालाई नै नेपालको उत्कृष्ट जिल्ला बनाउने जोस लिएर यसपटक म जिल्ला क्रिकेट संघको निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु,’ गौचनले भनेका छन्।
उनले थपे,‘तसर्थ: यस अभियानलाई सफल पार्न यससँग सम्बिन्धत व्यक्तित्व, पदाधिकारी ज्यूहरूबाट सहयोग र शुभेच्छाको अपेक्षा गरेको छु।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा झन्डै दुई दशक बिताएका गौचनले करिब ३ वर्ष अगाडि खेलाडी जीवनबाट सन्यास लिएका थिए।
उनले सन् २००२ मा ओमानविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। यसबीचमा नेपाली राष्ट्रिय टोलीका सम्पूर्ण ‘अप्स एन्ड डाउन’मा गौचन सारथी रहेको थियो।
नेपाललाई डिभिजन ५ देखि १ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो। उनी नेपाली राष्ट्रिय टोलीबाटै सबैभन्दा लामो समय खेल्ने खेलाडी हुन्।
भैरहवाका स्थायी बासिन्दा गौचनले त्यहाँ क्रिकेट एकेडेमी स्थापना गरेका छन्। उनी पछिल्लो समय सोही क्रिकेट एकेडेमीमा व्यस्त छन्। साथै, गौचनले विभिन्न घरेलु प्रतियोगितामा टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।