काठमाडौं– विभिन्न उद्योगी, व्यवसायीलाई धम्काउँदै रकम असुली गर्ने तथा गुण्डागर्दी गरेको आरोपमा काभ्रे प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–५ चौकोट बस्ने ३२ वर्षीय ज्वाला भनिने कृष्णराम महत र काभ्रेकै खानीखोला गाउँपालिका–७ बस्ने २८ वर्षीय मम भनिने दिनेश गोले छन्।
प्रहरीका अनुसार पीडित उद्योग व्यवसायी र होटेल व्यवसायीहरुको उजुरी र गुनासोका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये महतले पनौती, धुलिखेल तथा बनेपा क्षेत्रमा सञ्चालित विभिन्न उद्योग तथा व्यवसायीका सञ्चालक (व्यवसायी)हरुलाई गुण्डागर्दीको शैलीमा धम्क्याउने तथा कुटपिट गर्ने गरेका थिए।
यस्तै, गोलेले पनौती क्षेत्रका स्थानीय र व्यवसायीहरुलाई धाक धम्की दिँदै दैनिक कामकाजमा समेत अवरोध पुर्याउँदै आएका थिए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।