काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन्। प्रधानमन्त्री कप पुस २६ देखि माघ ५ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी मैदानमा हुने छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार समूह ‘ए’ मा साविक विजेता आर्मी, कर्णाली प्रदेश, पुलिस, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन्। समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।
उद्घाटन खेलमा आर्मी र कर्णालीबीच त्रिवि मैदानमा हुनेछ। त्यसदिन त्रिविमै दोस्रो खेल एपीएफ र प्रदेश २ बीच हुनेछ।
त्यसैदिन मुलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन्। दोस्रो खेलमा बागमती र लुम्बिनी भिड्नेछन्।
हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। दुवै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ।
यसअघि प्रधानमन्त्री कप एकदिवसिय फर्म्याटमा हुँदै आएको थियो। तर, ओमानमा हुने आईसीसी टी२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै क्यानले टी२० फर्म्याट गर्न लागेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा क्यानको आयोजनामा हुने प्रतियोयिगताका यस अघिका चारै संस्करण एकदिवसिय फर्म्याटमा आयोजना भएको थियो।
नेपाली टोलीले ओमानमा टी२० विश्वकप छनोट खेल्ने भएकाले खेलाडीलाई अभ्यस्त बनाउन पनि यस पटकलाई क्यानले राखेपसँग टी२० प्रतियोगिता गराउन अनुरोध गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।