काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन केन्द्रित सुरक्षा तयारीबारे छलफल भएको छ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध्यावधिक छलफल भएको पनि कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्विपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको छ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी जानकारी गराएका थिए।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो।
बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाई गरेका थिए। गृहमन्त्री खाणले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।