काठमाडौं- श्रीलंकाका शीर्ष क्रमका ब्याट्सम्यान भानुका राजपाक्षेले खेल जीवनबाट सन्यास लिएका छन्।
सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका भानुकाको क्रिकेट करिअर लामो रहेन सकेन। भानुकाले गत वर्ष मात्र एकदिवसीयमा डेब्यू गरेका थिए।
भानुकाले बुधबार एक ट्वीट गर्दै पारिवारिक बाध्यताका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको जानकारी दिए।
३० वर्षीय भानुकाले श्रीलंका क्रिकेटलाई पत्र लेखेर यो जानकारी दिएका हुन्। पत्रमा उनले लेखेका छन्, ‘मैले खेलाडी र पतिको हैसियतको समीक्षा गरें। पारिवारिक बाध्यताका कारण मैले यो निर्णय लिनु परेको हो।’
उनले श्रीलंकाका लागि पाँच एकदिवसीय र १८ टी२० खेलमा ४०९ रन बनाएका छन्। उनी टी२० विश्वकपमा श्रीलंकाको टोलीमा थिए र १५५ रन बनाएका थिए।
शीर्ष क्रमका ब्याट्सम्यान भानुका हालै श्रीलंका प्रिमियर लिग खेल्दै देखिएका थिए। बायाँ हाते ब्याट्सम्यान भानुकाले सन् २०११ मा आफ्नो फर्स्ट क्लास करिअर सुरु गरेका थिए। भानुकाले ७७ फर्स्ट क्लास, १२० लिस्ट ‘ए’ र १०५ टी२० खेल खेलेका छन्।
भानुका श्रीलंका प्रिमियर लिगमा गाले ग्लाडिएटर्सबाट खेल्दै आएका छन्। भानुकाले आफ्नो अन्तिम एकदिवसीय सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए भने अन्तिम टी२० आईसीसी विश्वकपमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।