काठमाडौं- दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एबी डिभिलियर्सलाई भविष्यमा के हुने हो थाहा छैन। तर, राष्ट्रिय टोली र इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा उनी विश्वस्त छन्।
विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्येका एक डिभिलियर्सले गत वर्ष नोभेम्बरमा सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका थिए।
टाइम्स लाइभसँगको कुराकानीमा डिभिलियर्सले भने,‘मलाई विश्वास छ कि मैले दक्षिण अफ्रिकी क्रिकेट र आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। तर, मलाई थाहा छैन भविष्यमा के हुन्छ।’
२० हजार १४ अन्तर्राष्ट्रिय रन बनाउनुबाहेक डिभिलियर्सले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान राखेका छन्। उनले रोयल च्यालेन्जर्सका लागि १५७ खेलमा ४ हजार ५२२ रन बनाएका छन्।
३७ वर्षीय डिभिलियर्सले आफूले प्रतिभाशाली युवा खेलाडीलाई मेन्टर गर्दै भविष्यका लागि तयार पारेको बताए।
‘यसको बारेमा कसैलाई थाहा छैन। मलाई आशा छ कि एक दिन म भन्न सक्छु- मैले केही खेलाडीहरूको जीवन परिवर्तन गर्न योगदान गरेको छु,’ उनले भने।
सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले कोरोना महामारीमा आफूले धेरै व्यक्तिगत चुनौतीहरूको सामना गर्नुपरेको बताए।
उनले भने, ‘गत वर्ष दुईपटक आईपीएल खेल्न जानु, यात्रा प्रतिबन्ध, कोरोना परीक्षण, रद्द उडान र छोराछोरीको पढाइको व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो। म आफैंलाई उत्प्रेरित गर्न र सतर्क रहनु थियो।’
उनी थप भन्छन्,‘मलाई पनि कोरोना संक्रमण भएको थियो र १०-१२ दिनसम्म बिरामी रहें।’
भारतमा फ्रेन्चाइजी टोलीका धेरै खेलाडीहरूलाई कोरोना संक्रमण भएपछि मे २०२० मा आईपीएल प्रतियोगिता स्थगित गरिएको थियो। प्रतियोगिताका बाँकी खेलहरू २०२१ को अन्त्यतिर यूएईमा खेलाइएको थियो।
डिभिलियर्सले भन्छन्,‘त्यही ऊर्जाका साथ आफूलाई सबैभन्दा ठूलो स्टेजमा प्रमाणित गर्न गाह्रो भइरहेको थियो। जब मलाई यात्रा गर्न गाह्रो भयो र बायो-बबलमा हुन थाल्यो, यसले मेरो खेललाई असर गर्यो। मैले रन बनाउनेभन्दा मैदानबाहिरका गतिविधिहरूमा बढी ध्यान दिएको महसुस गरें। अनि मेरो मनमा सन्यास लिने विचार आयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।