काठमाडौं– बंगलादेशले न्यूजिल्यान्डविरुद्धको टेस्ट सिरिजको पहिलाे खेलमा ८ विकेटको जित हात पारेको छ। बंगलादेशले न्यूजिल्यान्डलाई टेस्ट क्रिकेट इतिहासमा पराजित गरेको यो पहिलो पटक हो।
यता, न्यूजिल्यान्ड सन् २०११ पछि एसियाली राष्ट्रसँग टेस्ट खेलमा पराजित भएको यो नै पहिलो पटक हो। पाकिस्तानले सन् २०११ जनवरीमा न्यूजिल्यान्डलाई ९ विकेटले हराएको थियो। उक्त खेल ह्यामिल्टनमा भएको थियोे।
साथै, बंगलादेशले न्यूजिल्यान्डको घरेलु मैदानमा १७ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। न्यूजिल्यान्ड दोस्रो इनिङ्समा मात्र १ सय ६९ रनमा समेटिएको थियो। जितका लागि ४० रनको लक्ष्य बंगलादेशले २ विकेटको क्षतिमा पूरा गर्यो।
बंगलादेशका लागि ओपनर नाजमुल हुसैन सान्तोले सर्वाधिक १७ रन बनाउँदा कप्तान मोमिनुल हकले १३ रन जोडे।न्यूजिल्यान्डका टिम साउथी र काइल जेमिसनले समान एक विकेट लिए।
यसअघि १४७-५ बाट पाँचौ दिनको खेल सुरु गरेको न्यूजिल्यान्डले २२ रन थप बाँकी ५ विकेट गुमायो। १४७/५ को स्थितिबाट अन्तिम दिन थाल्दा न्यूजिल्यान्डका रोस टेलर ३७ र रचिम रबिन्द्रा ६ रन बनाएर क्रिजमा थिए।
दोस्रो इनिङ्समा न्यूजिल्यान्डका विल योङले सर्वाधिक ६९ रन बनाए। यता, रस टेलरले ४० र रबिन्द्राले १६ रन बनाए ।न्यूजिल्यान्डलाई दोस्रो इनिङ्समा सस्तोमा समेट्न बंगलादेशका इबादत हुसैनले ५६ रन खर्चदै सर्वाधिक ६ विकेट लिए।
न्यूजिल्यान्डले पहिलो इनिङ्समा ३ सय २८ रनको योगफल बनाएको थियो। यता, बंगलादेशले ४ सय ५८ रन जोड्दै एक सय ३० रनको अग्रता लिएको थियो।
जितसँगै बंगलादेशले दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।