काठमाडौं– विभिन्न व्यक्तिको सामाजिक सञ्जाल (फेसबूक) अकाउन्ट ह्याक गरी रकम माग गरेर अनलाइन ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भइ भक्तपुरको गठ्ठाघर बस्ने १८ वर्षीय किरण पाठक छन्।
प्रहरीका अनुसार पाठकले सर्वसाधारण र उच्चपदस्थ व्यक्तिको समेत फेसबूक अकाउन्ट ह्याक गरी फेसबूक आइडीमा भएका साथीहरुसँग कुराकानी गरी अत्यावश्यक कामका लागि भन्दै रकम माग गरेर ठगी गर्ने गरेका थिए।
पीडित व्यक्तिको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पाठकलाई पक्राउ गरेको हो। पक्राउ परेका पाठकमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।