काठमाडौं– रियालिटी शो ‘हिमालय रोडिज’को चौंथो सिजन चलिरहेको छ। चौंथो सिजनअन्तर्गत पोखराको अडिसनमा भने केही नौलोपन देखिएको छ।
सामान्यतया: रियालिटी शोमा नाम चलेका कलाकारलाई प्रतिस्पर्धीकै रुपमा ल्याएर रमाइलो गर्ने चलन नेपालमा चलिआएकै छ। रोडिजमा पनि पोखरा अडिसनमा यस्तै देखियो। र्यापर समिर घिसिङ अर्थात भिटेन रोडिजमा प्रतिस्पर्धी बनेर पुगे।
कालो रंगको पहिरनमा कालै मास्क र थ्रिडी चस्मा लगाएर पुगेका उनले केही समयसम्म त कार्यक्रमका सञ्चालक, जज (ग्याङ लिर्डस)लगायतलाई झुलाइरहे। दिया मास्कले उनलाई ‘एटिच्युड’ बढी देखाएकोसम्म भन्न भ्याइन्। उनले भनिन्, ‘यो अति नै एटिच्युड भयो यार। कि मास्क फुकाल, होइन भने तिमी बाहिर जानुपर्छ।’
त्यसबीच कार्यक्रम सञ्चालक दिवस श्रेष्ठले उनलाई मास्क खोल्न भने। ‘एटिच्युड’ देखाएको भन्दै श्रेष्ठले मास्क खोल्न भनेपछि सबै जना चकित परे। मास्क पछाडिको अनुहार भिटेनको थियो। लाहुरे आफ्नो बसिरहेको ठाउँबाट उठेर उसलाई अंगालो हाल्न पुगे।
कार्यक्रममा पुगेका भिटेनले आफूमाथि प्रहरीले गर्ने दमन र आफूले आफ्ना गीतहरुमा प्रयोग हुने शब्दको विषयमा बोले। उनले भनेका छन्, ‘हामीले गीतमा अगाडि नै सेन्सरसिप गरेका हुन्छौं। कसले हेर्न पाउने, कस्ताले सुन्ने भनेर सुरुमै लेखेको हुन्छ।’
भिटेनकै समर्थनमा दियाले भनिन्, ‘जे भइरहेको छ, त्यो प्रणालीको बारेमा त कलाले बोल्छ नि। त्यसबारेमा राज्य किन जिम्मेवार भएर लिँदैन?’
भिटेन भने प्रहरी पनि समाजको एउटा हिस्सा भएकाले उसले गरेकै विषयमा आफूले लेख्ने र गाउने गरेको बताउँछन्। र, यसरी यर्थाथ नै बोल्दा प्रहरीले आफूमाथि दमन गरिरहेको बताए।
उनले भने, ‘प्रहरी समाजकै हिस्सा हो। उनीहरुले गरिरहेको काम हामीले पनि देखिरहेका हुन्छौं। त्यही मन नपरेको कुरा हामीले लेख्ने र गाउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।