काठमाडौं- नयाँ वर्षको अवसर पारेर अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा गायक राजेशपायल राईमाथि भएको दुर्व्यवहारप्रति कलाकारहरुले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा गायक प्रमोद खरेलदेखि निशा सुनारसम्मका कलाकारले उक्त घट्नाप्रति आपत्ति जनाएका छन्।
कार्यक्रममा प्रस्तुति दिइरहेका राईमाथि कार्यक्रमको सुरुआतमै पासाङ दावा शेर्पा नामक व्यक्तिले पछाडिबाट दुर्व्यवहार गरेका थिए। आयोजकले अँगालो मार्न खोजेको बताइरहे पनि कार्यक्रमको प्रत्यक्ष प्रसारणमा भने उक्त व्यक्तिले राईमाथि पछाडिबाट ‘घाँटी न्याकेको’ देखिएको थियो।
कार्यक्रममै गायक राईले यो घट्नाप्रति प्रतिक्रिया जनाएका छन्। उनले यसलाई सामान्यरुपमा लिँदै भनेका छन्, ‘अगाडिबाट आउने ज्वालामुखी पनि निल्न सक्छुजस्तो लाग्छ, पछाडिबाट आएको अँगालो पनि मिठै लाग्छ।’
उक्त घट्नालाई लिएर नेपाली सांगीतिक क्षेत्रमा भने माहोल तातेको छ। गायक खरेलले उक्त घट्नामा आपत्ति जनाउँदै लेखेका छन्, ‘अमेरिका न्युयोर्कको एक कार्यक्रम सिलसिलामा आदरणीय राजेश पायल राईज्यूलाई कार्यक्रम प्रस्तुत गर्दै गर्दा नै भएको दुर्व्यवहार अत्यन्त खेदजनक र आपत्तिजनक छ। कार्यक्रम व्यवस्थापन मा कमजोरी त देखियो नै तर हामी नेपाली समुदायका भेला, गोष्ठी, कार्यक्रममाथि नै प्रश्न उठ्नसक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन। संयमित बनौं।’
त्यस्तै, गायिका तथा नेपाल अमेरिकन कलाकार संघकी अध्यक्षले निशा सुनारले पनि विज्ञप्ति निकाल्दै उक्त घट्नामा आपत्ति जनाएकी छन्। विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली गीत संगीतका हस्ती तथा सर्वप्रिय गायक राजेश पायल राईमाथि हालै न्युयोर्कमा सम्पन्न भएको एक सांगीतिक प्रस्तुतिको क्रममा हातपात गरी निकृष्ट र निन्दनीय कार्य गर्ने व्यक्ति जोसुकै भए पनि निजलाई कडाभन्दा कडा कानुनी कारबाहीको जोडदार माग गर्दछौं। यो अपमानजनक दुर्व्यवहार एक संगीतकर्मीको लागि मात्र नभइ समग्र संगीत क्षेत्रमाथिको आक्रमण भएकोले विशेषगरी उक्त कार्यक्रमका आयोजकले जिम्मेवारी लिइ सम्बन्धित व्यक्तिलाई कारबाहीको पहल गर्न हार्दिक अपिल गर्दछौं।’
यता आयोजकले भने घट्नालाई सामान्यरुपमा लिन अनुरोध गरेका छन्। आयोजकमध्येका एक पशुपति श्रेष्ठले एक युट्युब च्यानलसँग गरेको कुराकानीमा भनेका छन्, 'फ्यान हुनुहुन्छ। फोटो खिच्न खोज्नुभएको थियो, भेट्न खोज्नुभएको थियो। जाने कुरामा हामीले जान नदिन खोजेका थियौं। आयोजकलाई जानकारी थिएन। उहाँलाई भेट्न नपाएको कारणले जसरी पनि भेट्नुपर्छ भन्ने सोचले गर्दा अँगालो हालेको हो। केही पनि भएको छैन। आक्रमण भएको होइन। उहाँको फ्यानहरुलाई सम्हाल्न धेरै गाह्रो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।