काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनमा २५ समूहको रिपोर्टिङ सकिएको छ। बुधबार ११ र बिहीबार १४ समूहको रिपोर्टिङ प्रस्तुत भएको हो।
शुक्रबार अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समूहगत रिपोर्टिङको जवाफ दिने भएका छन्।
माओवादी आयोगहरुको प्रतिवेदन शुक्रबार दिउँसो १ बजे पेस गरिने भएको छ। शुक्रबारदेखि केन्द्रीय निर्वाचन आयोगले आफ्नो प्रक्रिया सुरु गर्ने भएको छ। आयोगले प्रतिनिधिहरुको नाम सर्वजनिक भएपछि त्यहीँबाट केन्द्रीय समिति चयन हुने प्रक्रियामा जाने भएको छ।
केन्द्रीय समितिबाटै अध्यक्षसहित पदाधिकारी चयनको प्रक्रियामा जाने बताइएको छ। केन्द्रीय समिति र अध्यक्षसहित पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने भनिएको छ।
यस्तै, माओवादी केन्द्रमा २५ समूहको रिपोर्टिङ सकिएपछि स्थायी समिति बैठक सुरु भएको छ। महाधिवेसनको चौंथो दिन समूहगत रिपोर्टिङ सकिएपछि प्रज्ञा भवन कमलादीमा स्थायी कमिटी बैठक सुरु भएको एक नेताले बताए।
सबै समूहको रिपोर्टिङ सकिएपछि नेताहरु स्थायी समिति बैठकमा जुटेका हुन्। बैठकमा केन्द्रीय समितिमा समेट्न विभिन्न कलस्टरको कसरी प्रतिनिधित्व गराउने भन्ने र समूहगत छलफलको सुझावका विषयमा समेत छलफल हुने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।