काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा प्रवास समितिबाट सहभागी प्रतिनिधिहरुले स्वदेशमै रोजीरोटी गरेर खाने वातावरण मिलाउन आग्रह गरेका छन्।
प्रवास कमिटीमार्फत् प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सुझाव दिने क्रममा विशेषः कतार, दुबई, साउदी अरब, मलेसियालगायत खाडीबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुले हिजो पार्टीको लागि लडेको स्मरण गराउँदै पुनः पार्टीलाई अप्ठ्यारो परेमा लड्न तयार रहेको बताए।
‘पार्टीले राम्रो नीति लिएर अगाडि बढ्छ भने आएर योगदान दिन तयार छौं। चारैतिर अप्ठ्यारोमा परेको छ भने जस्तोसुकै जोखिम मोल्न तयार छौं,’ समूहगत छलफलमा सहभागी एक प्रतिनिधिले भने,‘यदि पार्टीलाई अप्ठ्यारो परेको छैन भने खाडीबाटै सहयोग र समर्थन गर्छौं। तर, स्वदेशमै रोजीरोटी गरेर खाने व्यवस्था मिलाइयोस्।’
हिजो पनि प्रचण्डको निर्देशनमा मुलुक परिवर्तनका लागि जीवन हत्केलामा राखेर हिँडेको बताउँदै आवश्यक परे देश र जनताको पक्षमा लड्न तयार उनीहरुले बताएका छन्।
‘जनयुद्धमा जनमुक्ति सेना र कार्यकर्ता भएर हिँडेका खाडीमा धेरै छौं। थ्रिडी (ड्रटी,डेन्जर र डिफिकल्ट) काम गरिरहेका छौं,’ ती प्रतिनिधिले भने,‘नेपालमा कसरी फर्काएर व्यवस्थापन गर्ने? समाजमा कसरी पुनर्स्थापना गर्ने? हामीले गरेको राजनीतिक योगदानको कसरी हुन्छ त्यो कदर होस्।’
यस्तै, उनीहरुले खाडीमा श्रम गर्नेलाई स्वदेशदेखि विदेशसम्म दलालले दु:ख दिने गरेको बताउँदै त्यस्ता दलाल पार्टी समर्थित भए पनि कारबाही गर्नुपर्ने सुझाव दिएका छन्।
यता, उनीहरुले विदेशमा भएका नेपालीहरुको मतदानको अधिकार सुरक्षित हुनुपर्ने माग राखेका छन्। ‘हामीले पठाएको रेमिट्यान्सले देश चल्ने, भोटिङ किन चल्दैन?,’ प्रश्न गर्दै प्रवास प्रतिनिधिले सोधेका छन्, ‘रेमिट्यान्सले देश चलेको छ भने त्यही रेमिट्यान्स भित्र्याउने मान्छेको राजनीतिक अधिकार सुनिश्चित गर्ने कुरामा पहल गर्नुपर्छ।’
द्वन्द्वका क्रममा भारत र बेल्जियममा रहेका नेपालीहरुले सहयोग गरेको भन्दै त्यसको पनि कदर गर्नु पर्ने सुझाव दिएको अर्का प्रतिनिधिले बताए।
युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा भएकालाई स्वदेशमै फर्काएर रोजगारी दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। ती देशमा भएका डाक्टर, इन्जिनियर, वैज्ञानिकलगायत विविध क्षेत्रमा काम गरेका सीपमूलक दक्षजनशक्ति पर्काउन पार्टीले नीति बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन्।
प्रवास समितिको तर्फबाट मनऋषि धितालले विश्वका ४१ जनाको प्रतिनिधित्व गर्दै अध्यक्ष प्रचण्डलाई रिर्पोटिङ प्रस्तुत गरेका छन्।विश्वभर ८० लाख नेपाली बस्ने गरे पनि धेरैजसो माओवादी समर्थित खाडी मुलकसँगै कोरियालगायत देशमा धेरै रहेका छन्। पार्टीका १० हजारभन्दा धेरै पार्टी सदस्यता फाराम भरेको प्रवास समितिको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।