काठमाडौं– अभिनेत्री रेखा थापाले चुनावमा हार्नु सामान्य भएको बताएकी छिन्। चितवनमा चेपाङ बालबालिकालाई शैक्षिक सामग्रीसहित साक्षात्कार गर्न पुगेकी रेखाले आफूसम्बद्ध पार्टी राप्रपाको महामन्त्री पदमा भएको हार सामान्य भएको बताएकी हुन्।
केही साताअघि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा रेखाले महिलातर्फबाट महामन्त्री पदका लागि उम्मेदवारी दिएकी थिइन्। तर, चुनावमा भने उनी पराजित भइन्।
यो विषयमा रेखाले भनेकी छिन्, ‘यो हाम्रो अभियान थियो। दोस्रो पुस्ताले पार्टी वा देश चलाउनुपर्छ भन्ने। त्यसमा म सफल भएको छु। जति मत आयो, जति पार्टी भित्रका नेताहरुले भोट दिनु भयो, त्यसले मप्रतिको विश्वास र थप काम गर्ने प्रतिबद्धता मभित्र थपिएको छ।’
रेखाले राजनीति र कलाकारिता छुटछुट्टै भएकाले कलाकारितामा जस्तो राजनीतिमा हार हुँदा दु:खी नहुने पनि बताइन्। उनले सुन्दरी प्रतियोगितामा हार्दा दु:खी भएजस्तो राजनीतिमा हार्दा नभइने बताइन्।
भनिन्, ‘म मिस नेपालमा हार्दा दुःखी भएको थिएँ। तर, यहाँ दुःखी छैन्। यहाँ सिक्ने मौका पाएको छु। राजनीतिमा हार्यो भने एक कदम अघि बढिँदोरहेछ।’
रेखाले नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने अभियानको जित भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।