काठमाडौं- कलाकारले आफूले गरेको कामको पारिश्रमिक नपाएको कुरा बेला बेला चर्चामा आउँछ। बहस सिर्जना हुन्छ। र, फेरि सेलाउँछ। गत वर्ष पनि केही कलाकारले पारिश्रमिक नपाएको सार्वजनिक थिए। तर, पछि त्यो मुद्दा यस्सै सेलायो।
यसपटक भने पारिश्रमिक नपाएको भन्दै नायिका तथा मोडल पारमिता राणाले आक्रोश पोखेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा 'स्टोरी' राख्दै उनले आफूले गरेको कामको पारिश्रमिक नदिनेको नाम सार्वजनिक गरिदिने चेतावनी दिएकी छिन्।
पारमिताले आफूले काम गरेको पैसा दिन आग्रह गर्दै नदिएमा नाम सार्वजनिक गरिदिने चेतावनी दिएकी हुन्। उनले लेखेकी छिन,'म आजित भइसकेँ। असाध्यै आजित भइसकेँ। अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’
पारमिताले आफूले काम गरेको पैसा भिख जसरी माग्नु दु:खद भएको पनि उल्लेख गरेकी छिन्।
सन २०१६ मा प्रदर्शनमा आएको 'चपली हाइट २'बाट डेब्यू गरेकी पारमिताले 'चंगा चेट', 'द म्यान फ्रम काठमाडौं', 'द कर्मा' लगायतका फिल्म र थुप्रै म्युजिक भिडियोमा काम गरेकी छिन्। दुई वर्ष अघि बूढानीलकण्ठमा भएको गाडी दुर्घटनामा नाम जोडिए यता भने पारमिता फिल्म तथा म्युजिक भिडियोमा कम देखिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।