काठमाडौं– पोेखरामा सोमबारदेखि ‘पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ सुरु हुने भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव पुष १२ गतेदेखि १६ गतेसम्म पोखरामा हुन लागेको हो। सोमबारबाट सुरु हुने महोत्सवमा विभिन्न २० देशबाट प्राप्त ९४ वटा फिचर तथा लघु चलचिसहितका चलचित्रहरु प्रदर्शन हुनेछन्।
महोत्सवमा फिल्म प्रदर्शनसँगै वर्कसप, फोटो प्रदर्शनी, चित्रकला प्रदर्शनी, साहित्यिक प्रस्तुती, फिल्मसम्बन्धी कार्यशालालगायतका कार्यक्रहरु पनि राखिएका छन्।
फेवातालको किनारबाट सुरु हुने कार्यक्रम पोखराका विभिन्न हल तथा होटलमा पनि सञ्चालन हुने कार्यक्रम आयोजकले जनाएका छन्।
महोत्सवमा भारतीय निर्देशक अजितपाल सिंहको फिल्म ‘फायर इन द माउन्टेन’, मोहन राईको फिल्म ‘महानगर’, इयान स्कट क्लिमेन्टको फिल्म ‘बासेन्जी’ लगायतका फिल्महरु प्रदर्शन हुँदै छन्।
त्यस्तै, फरहा खातुनको निर्देशनमा बनेको ‘होली साइट्स’, केनियाका फिल्मकर्मी साम सोकोको निर्देशनमा बनेको ‘सफ्टी’, पुर्णिमा महर्जन र अम्बिका भण्डारीको फिल्म ‘अपरिचित’लगायतका वृत्तचित्रहरु पनि महोत्सवमा प्रदर्शन हुँदै छन्।
महोत्सवमा रैथाने संगीतको पनि प्रस्तुती रहेको छ। झुमा लिम्बु र उनको समूह, पुष्पा पलाञ्चोके र ‘सेरो ओ डुवो र साथीहरु’लगायतका समूहले रैथाने संगीतको प्रस्तुती दिदैं छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।