काठमाडौं– केही समयअघि कार्यक्रमको निर्माण कम्पनीसँगको विवादका कारण बन्द भएको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुने भएको छ। कार्यक्रमका प्रस्तोता जितु नेपाल (मुन्द्रे)ले सामाजिक सञ्जालमार्फत कार्यक्रम पुनः प्रसारण हुने बताएका हुन्।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहको जितुको कार्यक्रम गत कात्तिकमा बन्द भएको थियो। ‘मुन्द्रेको कमेडी क्लब’लाई निर्माण गरिरहेको कम्पनी ‘की एड्भर्टाइजिङ’ले कार्यक्रममा आवद्ध उमेश राई (फुलन्देकी आमा)लाई लिएर नयाँ कार्यक्रमको घोषणा गरेसँगै कलाकार नेपालले आफ्नो कार्यक्रम नचलाउने घोषणा गरेका थिए। उनले कार्यक्रम बन्द गरेको घोषणा गर्दै केही समयको ब्रेक लिएर फेरि टेलिभिजन वा फिल्ममा फर्किने बताएका थिए।
दुई महिनाको ब्रेकपछि जितु फेरि टेलिभिजनमै देखिन लागेका छन्। बन्द भएको कार्यक्रमलाई पुनः प्रसारण गर्ने निर्णय भएको उनले सामाजिक सञ्जालमा बताएका छन्। उनी लेख्छन्, ‘मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्मतिर लाग्दै छु।हिजोका केही कमीकमजोरीलाई हटाउँदै नयाँ जोश जाँगर र उत्साहसहित आउन लागेका छु।केही नयाँ अनुहार,नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित, मेरो आदरणीय गुरु दिनेश डिसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरु अवश्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने बिस्वास लिएका छु।’
जितुले उल्लेख गरेअनुसार अबको कार्यक्रमलाई टेलिभिजनकर्मी डिनेश डिसीले निर्देशन गर्नेछन्। कार्यक्रम कुन टेलिभिजनबाट कुन मितिमा प्रसारण हुने भन्ने बारेमा छिट्टै कार्यक्रम गरि जानकारी दिने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।