काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महतले आफ्नो पराजय अनपेक्षित भएको बताएका छन्। पार्टीमा आफ्नो पराजयको समीक्षा हुने उनको भनाइ छ।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महतले महामन्त्रीमा क्रस भोट भएको बताए। 'महामन्त्रीमा मात्रै क्रस भोट भएको छ। यसको समीक्षा हुँदै जाला। तर, कसैलाई आरोप लगाउन चाहन्नँ,' महतले भने।
महतले पदमा नरहे पनि आफ्नो भूमिका नघट्ने दाबी समेत गरे। 'अपेक्षाअनुसार नतिजा आएन। पदमा रहे पनि, नरहे पनि मेरो भूमिका घट्दैन।विजयी हुन नसके पनि स्ट्रङ मत आएको छ,' महतले भने।
महतले आफ्नो पराजयप्रति पार्टीभित्र चिन्ता र चासो राखिएको बताए। उनले आफू निराश भएर पलायन नहुने पनि बताए।
'पार्टीभित्र पनि मेरो पराजय प्रति चिन्ता र चासो राखिएको छ। निराश भएर पलायन म हुँदिन,' महतले भने, 'अन्तर्घात आफ्नै समुहबाट भएको मैले भन्ने कुरा होइन। बाहिरी जगत, मिडियाले बुझ्ने कुरा हो।'
आफू जहिले पनि पार्टीलाई केन्द्रविन्दुमा राखेर लागिरहने बताउँदै महतले केन्द्रीय सदस्यमा मनोनित गर्ने/नगर्ने विषय सभापतिको अधिकारको कुरा भएको बताए। केन्द्रीय सदस्यमा मनोनित गरिए त्यसलाई स्वीकार गरेर सक्रिय हुने उनको भनाइ छ।
'पार्टीलाई केन्द्र विन्दु राखेर लागिरहन्छु। संस्था फस्ट हामीले अझै बुझ्न सकेका छैनौं,' महतले भने, 'केन्द्रीय सदस्यमा मनोनित गर्ने अधिकार सभापतिको हो। आवश्यकता ठान्नु भो भने अस्वीकार गर्ने कुरा हुन्न।'
१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका महत पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।