काठमाडौं– नस्यामपाटी (सिन्धुपाल्चोक) पुग्ने बाटोमा अलिअलि हिउँ बाँकी नै छ। करिब तीन साता अघि काठमाडौँमा झरी पर्दा यहाँ हिउँ परेको थियो। घामको किरण पर्ने ठाउँमा हिउँ पग्लिसक्यो। घाम नपर्ने ठाउँमा अझै सेताम्मे छ।
चिसो निकै बढेको छ। मीना वाइबा (३०) नस्यामपाटीबाट छिम्ती फर्किने सुरसारमा छिन्। त्यतिबेला उनको ‘नस्याम भ्यु पोइन्ट होटेल’ पनि बन्द हुन्छ। अब ‘अफ–सिजन’ लाग्यो। यो वर्ष पाँचपोखरी घुम्ने पर्यटक आउँदैनन्।
पाँचपोखरी जाने बाटोमा टुप्पीडाँडा (ब्रोङ्दोग्याङ) र चोकरडाँडा पार गरेपछि नस्यामपाटी पुगिन्छ। टुप्पीडाँडा र चोकरडाँडामा उस्तो धेरै हिउँ परिसकेको छैन। नस्यामबाट जुगल हिमाल चाँदी झैँ टिलिक्क टल्किएको छ।
नस्यामपाटीमा अब बन्द गर्न बाँकी मीनाको होटेल मात्र हो। अरु होटेलका सञ्चालक बेसी झरिसकेका छन्। उनी भने लेकमा ज्याला मजदुरीका लागि आएका र भरिया तथा सिजनको अन्तिमतिर पदयात्रामा पुगेकालाई बास दिन बसेकी हुन्। ‘उनीहरूका लागि पनि बसिदिनु परेको छ। तर, चिसो बढेर रुघा लाग्न थालेकोले अब बस्न गाह्रो छ,’ उनले भनिन्, ‘तपाईंहरु नै यो सिजनको अन्तिम पदयात्री होला। अब आउँदैनन्।’
पुसदेखि फागुनसम्म पाँचपोखरी जाने बाटोमा कोही पनि हिँड्दैन। उनी बेसीमै हुन्छिन्। होटेल हिउँमा छोपिन्छ। यस्तो बेला पनि कोही काम परेर यता आए उनी फेरि लेक उक्लिन्छिन्। ‘कोही मान्छे आयो भने खबर गर्छन् र हामी माथि आउँछौं, हामी आएन भने त उनीहरुको बिजोक हुन्छ,’ उनी भन्छिन्, ‘पहिला पनि यस्तै बेला मान्छे आएको रैछ। फोन गर्यो र आयौँ। हामी नभए पानी पनि कहाँबाट खाने थाहा पाउँदैन, सबै जमेको हुन्छ।’

कोरोनाका कारण करिब दुई वर्ष उनले होटेल बन्द गरिन्। कोही पदयात्री नै आएनन्। त्यो अवधि कहिले छिम्तीस्थित घरमा बसिन्, कहिले श्रीमान् र छोरीसँगै यता लेक उक्लिइन्।
बेसी बस्दा मन ढुक्क भने हुँदैन। कोरोना महामारीअघि अफ–सिजनमा बेसी झरेको बेला कोही उच्छृङ्खलले पानी थापेका जर्किन फुटाइदिए। केही न केही बिगार गरिदिन्छन्। यसपटक हामी पुग्दा उनी पनि फर्किने सुरसारमा थिइन्। तर, यसपटक पनि फर्कँदा मन ढुक्क छैन रे।
हामी टुप्पीडाँडाबाट सबेरै हिँडेर नस्यामपाटी पुग्दा ११ बजिसकेको थियो। मीनाले खाना तयार गरिसकेकी थिइन्। बेसीबाट काम गर्न आएकाहरूका लागि बनाइएको खाना भाग लगाएर हामीलाई पनि दिइन्।
उनले चार वर्षअघि होटेल सुरु गरेकी हुन्। होटेल बनाउँदा छिम्तीबाटै सामग्री बोकाएकी हुन्। त्यहाँबाट नस्यामपाटी करिब १० घन्टाको पैदल दूरीमा पर्छ। उनले झन्डै १० लाख रुपैयाँ खर्च गरेर होटेल बनाइन्।
होटेल सञ्चालन गर्नुअघि मीनाको परिवार खेतीपाती र पशुपालन गर्थ्यो। चौँरी चराउन लेकमा गोठ राख्थे। पाँचपोखरी जाने पैदलयात्री उनीहरूकै गोठमा बास बस्थे। ‘हाम्रो गोठमा उनीहरु बस्ने, पकाउने गर्दा रहेछन्,’ उनी भन्छिन्, ‘गोठ भत्काउने, बिगार पनि गर्ने गरेका थिए। यो बाटोमा पाँचपोखरी घुम्न जाने पदयात्री आउँछन् भन्ने थाहा पाएपछि हामीले होटेल सुरु गरेका हौँ।’

होटेल खोलेपछि मीनाको दैनिकी फेरियो। अब बेसीको घरमा भन्दा बढी लेकमा बस्न थालिन्। समुन्द्री सतहभन्दा करिब दुई हजार मिटरमाथि रहेको छिम्तीबाट उनको जीवन उकालो लागेर करिब ३८ सय मिटरको नस्यामपाटी आइपुगेको छ। चौँरी र याक चराउने काम छाडेर पाहुनाहरूको सत्कार गर्न थालेकी छन्। उनको अधिकतम् बास नस्यामपाटीमा भए पनि लेकबेसी गरिरहन्छिन्।
पहिला गोठ राख्दा साउनदेखि कात्तिकसम्म उनीहरू चौँरीलाई लेक ल्याउँथे। चौँरी चराउँदै प्रत्येक महिना अलिअलि गर्दै उकालो लाग्थे। एउटा खर्कमा घाँस सकिएपछि अर्को खर्क जान्थे। ‘अहिले पनि यहाँ गोठहरू छन्,’ मीना भन्छिन्, ‘तर, कात्तिकदेखि सबै घाँस सुक्छ। अहिले त चौरी गाउँमै छन्।’
लेकको जिन्दगी बेसीको जस्तो सहज भने छैन।
मंसिरको सुरुदेखि नै चिसो अत्यधिक बढ्न थाल्छ। पानीका मूलसमेत जम्छन्। अनि पानी ल्याउन हरेक दिन एक घण्टा हिँड्नुपर्छ। ‘दुःख छ। जर्किनमा र यी नै दुई वटा बोतलमा पानी ल्याउछौँ,’ उनी भन्छिन्, ‘यहाँ त भित्रै राखेको पानी पनि जम्छ।’
अघिल्लो रात भान्साकोठामै छाडिएको बोतलको पानी जमिसकेको थियो।
मीनाले चार कक्षासम्म पढेकी छन्। लेखपढ गर्न सक्छिन्। १३ वर्षको उमेरमै विवाह भयो। १७ वर्षको उमेरमा आमा बनिन्। अहिले ६ जना छोरी छन्। जेठी छोरी १३ वर्षकी भइन्। उनी बल्ल ३० वर्ष पुग्दैछिन्। उनी भन्छिन्, ‘कान्छी हिजो मात्र (पुस १) चार पूरा भएर पाँच वर्ष लाग्यो।’
उनका श्रीमान् नेमासिं वाइबा अहिले काठमाडौँ गएका छन्। उनी भन्छिन्, ‘श्रीमान् यो बाटोको सचिव हो। पैसाको हरहिसाब मिलाउन उता गएको हो।’ पाँचपोखरी जाने पैदलयात्राका लागि बाटो बनेको छ।
उनले चलाएको होटेलबाटै घरखर्च टर्छ। छोरीहरूलाई पढाएकी छन्। ‘जेठी छोरी ८ कक्षामा पुग्यो, उसलाई डाक्टर बनाउन मन छ। पढाइ पनि राम्रो छ,’ उनी भन्छिन्।
कुराकानीपछि मैले उनलाई फोटोको लागि आग्रह गरेँ।
‘यहाँ त अँध्यारो आउँछ होला,’ भान्साघरमा केही तस्बिर खिचेपछि उनी बोलिन्।
हामी बाहिर निस्कियौँ। पृष्ठभूमिमा जुगल मुस्कुराइरहेको थियो। सामुन्ने मीना लजालु मुस्कानसहित उभिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।