कैलाली- पुस महिनाको कठ्याङ्ग्रिँदो जाडो। रात पर्दै जाँदा दर्शकको उपस्थितिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदान भरिँदै थियो। अगाडि स्टेजमा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति पस्कदै गर्दा माहोल संगीतमय बन्दै गइरहेको थियो।
सातवटै प्रदेशमा ‘सप्तरङ्ग’ कार्यक्रम लिएर गत मङ्सिर २४ गते पूर्वको काँकडभिट्टादेखि देश दौडाहामा रहेको गृष्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग-३’ कार्यक्रमले दर्शकहरूको मन तान्दै थियो। जाडोको कुनै पर्वाह नगरी गीतसङ्गीतमा युवायुवतीसँगै अन्य उमेर समूहका मानिसहरू रमाइरहेका थिए।
सोमबार साँझ प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा कलाकारले प्रस्तुति दिएका थिए। अभिनेता राजेश हमाल, गायक प्रमोद खरेल, रामकृष्ण ढकाल, बद्री पंगेनी, अनिल सिंह, रवि वड, गायिका मिलन नेवार, अस्मिता अधिकारीले आ-आफ्नो प्रस्तुति राखेका थिए।
त्यस्तै टिकटकबाट चर्चामा आएर नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी उषा उप्रेती र नेपाल प्रहरीको साँस्कृतिक टोलीले धनगढी निकै तताएको थियो।
नेपाल प्रहरीसँगको साझेदारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शान्तिपूर्ण र सुरक्षित सामाजको परिकल्पनालाई प्रवर्द्धन गर्ने उदेश्यले सातवटै प्रदेशमा कार्यक्रमको आयोजना गरिएको आयोजक गृष्मा ब्रोडकाष्टिङका प्रमुख गृहेन्द्र घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।