काठमाडौं– बलिउडका हस्ती अमिताभ बच्चनको परिवार विवादमा तानिएको छ। विश्वभर चर्चित पानामा पेपर्समा आफ्नो नाम सामेल भएको विषयमा भारतको ‘पर्वतक निर्देशनालय (इडी)’ले बच्चन परिवारसँग सोधपुछ सुरु गरेसँगै उनको परिवार विवादमा तानिएको हो।
सोमबार बच्चन परिबारबाट ऐश्वर्या रायलाई इडीले सोधपुछ गरेको छ। सन् २०१६ मा सार्वजनिक भएको पानामा पेपर्सको विषयलाई लिएर ऐश्वर्यामाथि दिल्लीको पर्वतक निर्देशनालयले सोमबार सोधपुछ गरेको हो।
सार्वजनिक भएको विवरणका आधारमा बच्चन परिवारको नाममा ‘ट्याक्स हेभन’ देशहरुमा चार कम्पनी भएको देखिएको थियो। सोही विषयलाई लिएर ऐश्वर्यासँग सोधपुछ भएको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार ऐश्वर्यामाथि पाँच घण्टासम्म ‘ब्रिटिस भर्जिन आइल्याण्ड’ र ‘बहामास’मा कम्पनी स्थापना गरेर कारोबार गरेको विषयमा सोधपुछ भएको थियो।
अमिताभ पत्नी एवं सांसद जया वच्चन पनि सोमबार राज्यसभामा दिएको अभिव्यतिले चर्चामा आएकी छिन्। राज्यसभामा छलफल भइरहेको ‘लागुऔषधसम्बन्धी कानुन’को विषयमा आफ्नो कुरा राखिरहेकी जयामाथि सभाकै एक सदस्यले व्यक्तिगत टिप्पणी गरेपछि उनले, ‘म तपाईंहरुलाई श्राप दिन्छु, तपाईंहरुको नराम्रो दिन सुरु हुनेछ’ भनेकी थिइन्।
अहिले ऐश्वर्यामाथि भएको सोधपुछ र जयाको यो अभिव्यक्तिले बच्चन परिवार चर्चामा आएको छ। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि पानामा पेपर्ससँग बच्चन परिवारको सम्बन्धलाई लिएर टिकाटिप्पणी भएका छन्।
सन् २०१६ मा सार्वजनिक भएको पानामा पेपर्समा ५०० भारतीयको पनि नाम आएको थियो। तीमध्ये बच्चन परिवार पनि एक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।