काठमाडौं- गगन थापाको लोकप्रियताका विषयमा यसअघि धेरैको टिप्पणी हुन्थ्यो- पार्टीभित्रभन्दा बाहिर बढी लोकप्रिय छन्। महामन्त्रीमा ३०२३ मत पाएर थापाले त्यसलाई चुनौती दिएका छन्।
उनले प्राप्त गरेको यो मत पार्टीभित्रै बनाएको बागी नेताको छविको परिणाम हो। २०७४ को निर्वाचनपछि निरीह बनेको कांग्रेसलाई संसद्मा ज्युँदोजाग्दो राखिदिएको कृतज्ञता हो र कांग्रेस बदल्ने संकल्पको अनुमोदन पनि।
२०७४ पछि कहिले ९ जनाको समूह बनाएर त कहिले १२ पुर्याएर उनले पार्टी नेतृत्वमाथि दबाब सिर्जना गरिरहे। कांग्रेसभित्रको अव्यवस्थामाथि बोलिरहे। प्रतिपक्ष सांसदका रुपमा संसद्मा खेलेको भूमिका पनि कांग्रेसजनका लागि लाभदायी रह्यो। गगनको राजनीतिक यात्रा 'गगन'तिर डोर्याउन यी क्रियाकलापले सहयोग गरिरहे।
नेपाली राजनीतिमा उनको उदय नै 'बागी'को छविसहित भएको हो। उनको पहिलो सार्वजनिक पद प्राप्ति पनि विद्रोहकै उपज रहेको पत्रकार थिरलाल भुसालले स्मरण गरेका छन्। उनले कांग्रेसको आधिकारिक प्यानलबाट टिकट नपाएपछि हरि आचार्यसँगै बागी प्यानल बनाएर त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव जितेका थिए। पछि स्ववियु सभापतिसमेत भए।
त्यहीँबाट सुरु भएको पार्टीको उपल्लो नेतृत्वसँग टक्कर लिने क्रम आज पर्यन्त जारी छ। नेविसंघ महामन्त्री हुँदा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग उनको 'टसल' भइरह्यो।
कुनै समय कोइरालाले 'नरहरि र गगन दरबारिया हुन्' भनेको कुरा सञ्चारमाध्यममा छापियो। गगनले पत्रकार सम्मेलन गरेर त्यसलाई चुनौती दिए, 'म केही पनि बोल्दिनँ तर, यो आरोपलाई पुष्टि गर्नूस्। होइन भने म छोड्दिनँ।'
त्यो बेलामा कांग्रेसमा गिरिजा नामै काफी थियो। अहिलेको एमालेका 'ओली', गिरिजाप्रसादसँग 'टक्कर' लिने नरहरि आचार्य महाधिवेशनमा 'भीम रावल' बनाइए। अर्थात् ११ औं महाधिवेशनमा सभापतिका उम्मेदवारका रुपमा गिरिजाले १२ सय १५ ल्याउँदा नरहरिको १६५ मत आएको थियो।
कांग्रेस नेतृत्वले गणतन्त्र स्वीकारिरहेको थिएन। थापाको नेतृत्वमा त्रिचन्द्र कलेजमा बहस चलिरहेको थियो, 'राजसंस्थाको सान्दर्भिकता कति?' त्रिचन्द्रभन्दा अघि बढेर रातो घरको चौराहामा पुगेको जुलुसमा उनको वैचारिक अग्रगमन देखिन थाल्यो, 'तिथिमिति टिपेर राख्नूस्, दरबार मेरो ठीक अघिल्तिर छ। सुन्दा तपाईंहरूलाई अचम्म लाग्नसक्छ। तर, याद गर्नूस्, नेपालमा अब यो राजसंस्था ढल्यो, ढल्यो। नेपालमा गणतन्त्र आयो, आयो। यसलाई कसैले पनि रोक्न सक्दैन अब।'
पार्टी नीतिलाई नाघेर आमजनको लय समातेका उनलाई यही विचारले जेलसम्म पुर्यायो। परिवर्तनका पक्षमा माहोल बनाउन खेलेको नेतृत्वदायी भूमिकाले नेपाली कांग्रेस नेतृत्वले उनलाई चाहेर 'इग्नोर' गर्न सकेन। कांग्रेस बाहिरियाले पार्टीभित्रको प्रतिपक्षमाथि स्वाभाविक मलजल गरिरहे। त्यसले उनको राजनीतिक हुर्काइमा सहयोग नै पुग्यो।
कांग्रेसको १३औं महाधिवेशनमै पदाधिकारी बनेर बागीबाट व्यवस्थापक बन्ने उनको चाहना पूरा हुन सकेन। साढे पाँच वर्ष नचाहेरै उनी पार्टीभित्रको प्रतिपक्षमा बस्नुपर्यो।
उनले गत भदौमा नेपाल लाइभसँगको संवादमा भनेका थिए- 'मैले सधैँ सीमान्तमा बसेर पार्टीको नेतृत्वमाथि प्रश्न उठाएँ। महामन्त्री भएको दिनदेखि मेरो परीक्षा सुरु हुने हो। त्यसैले जिम्मेवारी देऊ भनेको हुँ। रेकर्डमा राखेर हेर्ने हो भने मैले नेतृत्वमा धेरै प्रश्न गरेको छु। विगतमा नेतृत्वमाथि उठाएका ती प्रश्न महामन्त्री भएको दिनदेखि मैतिर सोझिन्छन्। त्यसैले म कामै गर्ने हो, अब गनगन होइन भनेको हुँ।'
आम प्रतिक्षाको विषय नै यही छ- गनगन अर्थात् विरोध छाडेर व्यवस्थापन अँगालेका गगन कस्ता देखिएलान्? कहाँ-कहाँ भेटिएलान्?
महामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनको पहिलो चुनौती नै 'यो भएन, त्यो भएन' भनेर प्रश्न उठाउने आफ्नै स्वभावको व्यवस्थापन हुनेछ। हिजो उनी नबोल्दा समस्या हुन्थ्यो, अब तौलेर बोल्न सकेनन् भने समस्या हुन्छ। उनी आफैं गर्नुपर्ने ठाउँमा पुगेका छन्।
कांग्रेसमा उनी अनुकूल वातावरण अझै नबन्न सक्छ। बनाउन समय लाग्नसक्छ। वातावरण नबनिसकेको अवस्थामा उनले गर्नसक्ने केही हुँदैन। यदि केही गर्न सकेनन् भने प्रश्न उठ्नेछ- के भयो त?
त्यो बेला उनीसँग गुनासो सुनाउने अवसर होइन, असफल करार हुने अवस्था मात्रै हुनेछ। किनभने उनले यसअघि पटक-पटक भनेका छन्, 'मेरा देश र पार्टीसँग जोडिएका ती सपना पूरा गर्नका लागि म महामन्त्री हुने हो। पार्टीका बेथिति बढार्नका लागि, सुदृढ पार्टी निर्माणका लागि मैले काम गर्ने हो।'
कांग्रेसको मुख्य नेतृत्वमा शेरबहादुर देउवा दोहोरिएका छन्। उनको 'लाइन' स्पष्ट छ- प्रधानमन्त्री ७ पटक हुनुपर्नेछ। जनताको भविष्यभन्दा ज्योतिषीको सपना पूरा गर्नमा उनको जोडबल हुनेछ। किनभने, उनले भोट माग्दा नै भनेका छन्, 'मैले सभापतिमा हारें भने प्रधानमन्त्रीबाट हटाउँछन्।' कांग्रेसजनले भोटबाट देखाइदिए- 'शेर' शक्तिहीन भएको सुहाउँदैन।
यही माहोलको पूर्वसन्ध्यामा गगनले मङ्सिर २३ गते घोषणा गरिदिए- अबको महामन्त्रीले नेतृत्वलाई कांग्रेसको वैचारिक लाइन सुझाउँछ। त्यही लाइनमा कांग्रेस हिँडाउँछ। उनले त्यही दिन 'समुन्नत नेपाल, सम्मानित नेपाली'को अवधारणा प्रस्तुत गरेर कांग्रेसले देशका लागि लिनुपर्ने बाटोसमेत तय गरेका छन्। कांग्रेसलाई यो बाटोमा ल्याउनुअघि उनले सभापति देउवालाई ल्याउनुपर्नेछ।
उनका अनुसार 'समुन्नत नेपाल'को राजनीतिक मिसनका केही निश्चित मापकहरू हुने छन्। सुरुमै भनेका छन्- 'नेपाल समुन्नतितर्फ बढ्दै जाँदा वंश वा जाति वा लिंगको आधारमा प्राप्त हुने विशेषाधिकारको अवस्था घट्दै जानेछ, जन्म भएको परिवार र स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ।'
तर, कांग्रेसमा जन्म भएको परिवारको आधारमा नेता हुने क्रम जारी छ। र, त्यो कतिसम्म स्वीकार्य पनि छ भन्ने कुरा गगनले १३औं महाधिवेशनमा राम्रोसँग बुझेका छन्। १४औंमा पनि झेलेका छन्। श्रीमती आरजु राणा देउवा केन्द्रीय सदस्य हुँदै गुट सम्हाल्ने गरी तयार भइरहेकी छन्। साथै, छोरा जयवीर देउवाले राजनीतिमा आउने मनशाय राखेर क्रियाशील सदस्यता लिएका छन्। जन्म भएको परिवारका आधारमा 'भाग्य' निर्धारण हुने प्रचलनको अन्त्यका लागि देउवा कसरी तयार होलान्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।