काठमाडौं– कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’लाई नाट्य रुपान्तरण गरेर देखाउन थालिएको छ।
सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरुलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न ‘एक चिहान’लाई नाट्य रुपान्तरण गरी मञ्चन थालेको हो।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट नाटकको मञ्चन सुरु गरिएको छ। वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ।
सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन। साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरुको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका हुन्।
२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ।

नाटकको अन्त्यमा त्यही समाज आर्दशउन्मुख रहेको देखाइएको छ। अन्त्य दुःखान्त भएपनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।