काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आफूहरुमाथि गरेको कारबाही र वर्गीकरणलाई सच्याउन क्रिकेटर ज्ञानेन्द्र मल्लले आग्रह गरेका छन्।
डिभिजन ५ देखि नै आफूहरु खेल्दै आएको र यसले गर्व महसुस भएको भन्दै उनले अहिलेको लागि वर्गीकरण सच्याएर सम्वाद गर्नुपर्ने आवश्यकता रहेको बताए।
मंसिर २९ गते बसेको क्यानको बैठकले अनुशासन उल्लघंन गरेको भन्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो।
कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै उनीहरूलाई ६ महिनाको सेन्ट्रल कन्ट्र्याक्ट समेत राखिएको छैन।
शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै मल्लले खेलाडीको हकहितका लागि बोल्नु अनुशासन उल्लघंन नभएको जिकिर गर्दै वर्गीकरणमा पुर्नविचार गरेमा आफूहरु संवाद गर्न तयार रहेको बताए।
‘कुनै खेलाडी नछुटोस् भनेर हामीले सल्लाह गरेका हौं। वर्गीकरणमा पुर्नविचार गरेमा हामी संवाद गर्न तयार छौं,’ उनले भने,‘हामीले क्यानका कार्यवाहक सचिवदेखि अन्य पदाधिकारीसँग छलफल गरेका छौं। क्रिकेटलाई अघि बढाउने हो भने छिटोभन्दा छिटो संवादमा बोलाएर छलफल गरोस् भन्ने हाम्रो चाहाना हो।’
उनले वर्गीकरणबारे आफूलाई मौखिक जानकारी भए पनि लिखित रुपमा कसैले केही नभनेको जिकिर गरेका छन्। ‘हामीसँग सम्झौता गर्दा मौखिक रुपमा बुझाइएको थियो,’ उनले भने, ‘लिखित रुपमा हामीलाई कुनै जानकारी छैन। हामीहरुले गलत गरेको भए माफी माग्न तयार छौं।’
उनले आफूले कसैसँग गुट गर्दै नहिँडेको पनि स्पस्ट पारेका छन्। यसअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मल्लले कप्तानी शक्तिको आडमा ग्रुप बनाएर हिँडेको आरोप लगाएका थिए। तर, मल्लले उनको आरोपप्रति खण्डन गर्दै आफूले कुनै गुट नबनाएको दाबी गरेका छन्।
‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौं भन्ने सबैलाई थाहा भएकै कुरा हो,’ उनले भने,‘खेलाडीको एउटै लक्ष्य हुन्थ्यौं, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीलाई खुसी पार्ने। म टोलीको नेता र कप्तान भएपछि हामीले गुट बनाउने होइन। अरुले के गरेका छन् त्यो मलाई जानकारी छैन।’
क्यानमा देखिएको विवादबारे प्रधानमन्त्री शेरबहादुर देउवाले चासो राख्नु सकारात्मक रहेको उनले प्रतिक्रिया दिए। ‘प्रधानमन्त्रीदेखि अन्यको फोनलाई सकारात्मक रुपमा लिनुपर्छ। क्रिकेटमा चासो दिनुहुने रहेछ भनेर बुझौं,’ उनले भने।
क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चासो राखेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान र खेलाडीको विवादमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले शुक्रबार क्यानका अध्यक्षलाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएका थिए।
यस्तै, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पनि शुक्रबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए।
तर,क्यानका अध्यक्ष चन्दले आफुहरुले प्रमाण पुर्याएर खेलाडीमाथि कारबाही गरिएको भन्दै आफूहरुको कदम गलत नभएको जिकिर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।