काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा पुनः विचार गर्न आग्रह गरेका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुन: विचार गर्न आग्रह गरेका हुन्।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताए।
क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह गरेको भन्दै चिन्ता व्यक्त गरे।
आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारीहरुलाई मन्त्री गहतराजले निर्देशन दिए।
त्यसक्रममा उनले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बारेमा चासो लिएका थिए। गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।