काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।
क्यानको बुधबार बसेको बैठकले यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो।
पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेका थिए।
यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट हटाइएको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठकले सन्दीपलाई आजैका मितिबाट नयाँ जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिए।
‘सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको छ। यस्तै, उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पनि सो पदबाट हटाउने निर्णय गरिएको छ,’ उनले नेपाल लाइभसँग भने। यद्यपि, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन।
यस्तै, कार्यवाहक सचिव मल्लको संयोजकत्वमा गठित ५ पाँच सदस्यीय समितिले सिफारिस गरे बमोजिम ४ जनालाई केन्द्रीय सम्झौताबाट ६ महिना सहभागी नगराउने निर्णयसमेत गरेको छ।
क्यानका तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर गत साउनमा नै खेलाडी वर्गीकरणको सूची बुझाइसकेको थियो। त्यो वर्गीकरणको सूची क्यानले निकै ढिलो मात्र अनुमोदन गर्यो, जुन वर्गीकरणमा १८/१८ जना पुरुष र महिला खेलाडी परेका थिए।
श्रेष्ठ नेतृत्वको समितिले हरेक ६/६ महिनामा वर्गीकरणको समीक्षा गर्ने प्रस्ताव गरेको थियो। तर, क्यानले श्रेष्ठको संयोजकत्वमा गठित समितिले निर्धारण गरेको उक्त वर्गीकरण सार्वजनिक गरेको थिएन।
करिब दुई महिनापछि गत असोजमा बसेको क्यानको बोर्ड बैठकले खेलाडीको प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितालाई आधार बनाएर खेलाडीहरूलाई ३ श्रेणीमा बाँड्दै सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मका लागि एकै पटक ९ महिनाका लागि वर्गीकरण गरेको थियो।
यो वर्गीकरणअनुसार राष्ट्रिय टोलीका फास्ट बलर सोमपाललाई ‘बी’ श्रेणीमा राखिएको छ भने रोहितकुमार पौडेल वर्गीकरणमै परेका छैनन्। यता, गुल्सन झा पनि वर्गीकरणमा अटाएका छैनन्। उता, कमलसिंह ऐरीले आफूलाई ‘सी’ श्रेणीमा राखिएपछि असन्तुष्टि जनाएका छन्।
वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका छन्।
क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूमै गर्नुपर्नेमा वर्ष सकिँन लाग्दा गरेको थियो। यो अवधिमा नेपालले खेलेका पछिल्ला तीन सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी नै वर्गीकरणमा नपरेपछि खेलाडीहरु असन्तुष्ट बनेका थिए।
खेलाडीहरुलाई सम्झौता गर्नुअघि नेपालले क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज खेलिसकेको थियो। जसमा टिममा पुनरागमन गरेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए।
क्यानले भने २०२० फेब्रुअरीमा भएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज, मार्चमा भएको थाइल्याण्ड भ्रमण र २०२१ को अप्रिलमा भएको नेपाल, मलेसिया र ओमानबीचको त्रिकोणात्मक सिरिजको प्रदर्शनलाई आधार बनाएर खेलाडीको वर्गीकरण गरेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।