काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार उद्घाटन समारोह र बन्दसत्र पनि भइसकेकाले महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो। शनिबार उम्मेदवारको मनोनयन भइसकेको छ। सोमबार मतदान हुने कार्यक्रम छ।
कांग्रेसले १४ वटा महाधिवेशन गरिरहँदा फरकफरक निर्वाचन प्रक्रिया अपनाएको छ। आठौं महाधिवेशनसम्म सभापतिमात्रै निर्वाचित गरिन्थ्यो। पछि आवश्यक पदहरुमा सभापतिले नै मनोनित गर्थे। नवौं महाधिवेशनमा पहिलोपटक पाँच जना केन्द्रीय कार्यसमिति सदस्य पनि निर्वाचित गरियो। ती पाँच जना पाँच विकास क्षेत्रको आधारमा निर्वाचित गरिएको थियो।
दशौं महाधिवेशनमा आइपुग्दा सभापतिसहित केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्यहरुको निर्वाचन भयो। त्यो व्यवस्था एघारौं महाधिवेशनमा पनि कायमै रह्यो। बाँकी सभापतिले मनोनित गर्ने व्यवस्था थियो।
बाह्रौं र तेह्रौं महाधिवेशनमा सभापति-१, महामन्त्री-१ र कोषाध्यक्ष-१को लागि निर्वाचन भएको थियो। त्यस्तै, केन्द्रीय कार्यसमितिका ६१ पदका लागि निर्वाचन भएको थियो। बाह्रौंमा १४ प्रदेशबाट एकएक जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने तेह्रौंमा आइपुग्दा सात प्रदेशबाट दुईदुई जना निर्वाचित भएका थिए। अन्य सबै प्रावधान उस्तै थिए। उपसभापति-१, महामन्त्री-१, सहमहामन्त्री-२ लगायत केन्द्रीय कार्यसमितिका बाँकी सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था थियो।
चौधौं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार मात्रै बढाइएको छैन। प्रत्यक्ष निर्वाचित हुने दायरा बढाइएको छ, मनोनित गर्ने संख्या घटाइएको छ। त्यसैले सभापति-१, उपसभापति-२, महामन्त्री-२, सहमहामन्त्री-८ सहित १३४ केन्द्रीय कार्यसमिति सदस्यको लागि निर्वाचन हुँदैछ। त्यस्तै, कोषाध्यक्ष-१ र केन्द्रीय कार्यसमिति-३३ जना मनोनित गरिनेछ।
कुन महाधिवेशनमा कसले कति मत पाए?
पहिलोदेखि आठौं महाधिवेशनसम्म
नेपाली राष्ट्रिय कांग्रेसको रुपमा तीन वटा महाधिवेशन गरेको थियो। पहिलो महाधिवेशन (२००३ माघ) मा टंकप्रसाद आचार्य, दोस्रो महाधिवेशन (२००४ माघ) बीपी कोइराला, तेस्रो महाधिवेशन (२००५ फागुन) मातृकाप्रसाद कोइराला सर्वसम्मतिबाट सभापति चयन भएका थिए।
त्यस्तै, नेपाल प्रजातन्त्र कांग्रेससँगको एकतापछि नामकरण गरिएको नेपाली कांग्रेसले चौथो महाधिवेशन (२००६ चैत) मा सम्पन्न गरियो। सो महाधिवेशनबाट सहमतिमै मातृकाप्रसाद कोइराला सभापति बने। पाँचौं महाधिवेशन (२००९ जेठ)देखि भने निर्वाचन हुन थाल्यो। महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा २९८ मत प्राप्त गरी बीपी कोइराला सभापति भएका थिए। पराजित मातृकाले ६८ र केदारमान व्यथितले २ मत पाएका थिए।
छैटौं महाधिवेशन (२०१२ माघ) मा सभापतिका लागि सुवर्ण शमशेर र गणेशमान सिंहबीच प्रतिस्पर्धा भएको थियो। सुवर्णले २२६ मत पाएका थिए, गणेशमानले १७२ मत मात्रै पाए। कांग्रेसले २०१४ जेठमा विशेष महाधिवेशन गर्यो। महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मत सभापति बने।
सातौं महाधिवेशन (२०१७ वैशाख) मा पनि बीपी नै निर्वाचित भए। उनलाई भूदेव राईले चुनौती दिएका थिए। बीपीले ५९७३ मत पाउँदा राईले ८६५ मत पाएका थिए। आठौं महाधिवेशन २०४८ (फागुन) मा भयो। महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सर्वसम्मत सभापति निर्वाचित भएका थिए।
नवौं महाधिवेशन (२०५३ वैशाख)
यस महाधिवेशनमा सभापति र पाँच विकास क्षेत्रबाट एकएक जना केन्द्रीय सदस्यको निर्वाचन हुने व्यवस्था अपनाइयो। सभापतिका लागि गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरि जोशी प्रतिस्पर्धामा होमिएका थिए। खसेको कूल मत १४१० मध्ये कोइरालाले ११४४, वाग्लेले २५४ र रामहरि जोशीले १२ मत पाएका थिए।
त्यस्तै, केन्द्रीय सदस्यमा भएको निर्वाचनमा पूर्वाञ्चलबाट विजयकुमार गच्छदार विजयी भएका थिए। उनले १९५ मत पाएका थिए। पराजित भएका मणि लामाले ७९ र प्रकाश कोइरालाले ७३ मत पाएका थिए।
मध्यमाञ्चलबाट भीमबहादुर तामाङ विजयी भएका थिए। उनले २४६ मत पाएका थिए। पराजित भएका विमलेन्द्र निधिले १७६ र इन्द्रबहादुर श्रेष्ठले ४ मत पाएका थिए। मध्यपञ्चिमाञ्चलबाट सुशील कोइराला निर्वाचित भएका थिए।
पश्चिमाञ्चलबाट रामचन्द्र पौडेल विजयी भएका थिए। उनले १८७ मत पाएका थिए। पराजित रामकृष्ण ताम्राकारले ११८ मत पाएका थिए। सुदूरपश्चिमाञ्चलबाट शेरबहादुर देउवा निर्विरोध निर्वाचित भएका थिए।
दशौं महाधिवेशन (२०५७ माघ)
नवौं महाधिवेशनमा सभापतिसहित पाँच विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान लागू गरिएको थियो। दशौं महाधिवेशनबाट भने सभापतिसहित केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो। जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन भएको थियो।
महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिएका थिए। १४७७ महाधिवेशन प्रतिनिधि (मतदाता) रहेको सो महाधिवेशनमा कोइराला नै सभापतिमा दोहोरिए। उनले ९३६ मत पाए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए। सभापतिमा उम्मेदवारी दिनका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्थ्यो। तर, जोशीले भने आफ्नै प्रस्तावक-समर्थकको मत पनि पाएनन्।
१८ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा रामचन्द्र पौडेलले सर्वाधिक १०१५ मत पाएका थिए। अन्य सदस्यहरुमा शैलजा आचार्य (८९८), प्रकाशमान सिंह (८४०), खुमबहादुर खड्का (८१२), प्रकाश कोइराला (७९४), महेश आचार्य (७८१), सुशील कोइराला (७७६), प्रदीप गिरि (६६२), नरहरि आचार्य (६५४), अर्जुननरसिंह केसी (६५२), कृष्णप्रसाद सिटौला (५९६), बलदेव मजगैया (५९३), महन्थ ठाकुर (५८३), बलबहादुर राई (५८०), विजयकुमार गच्छदार (५७५), गोविन्दराज जोशी (५६९), विमलेन्द्र निधि (५६६), चिरञ्जीवी वाग्ले (५४०) निर्वाचित भएका थिए।
एघारौं महाधिवेशन (२०६२ भदौ)
एघारौं महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला र नरहरि आचार्यले प्रतिस्पर्धा गरेका थिए। जहाँ कोइराला नै विजयी भए। उनले १२१५ मत पाए भने आचार्यले १६५ मत मात्रै पाए।
निर्वाचनबाट टुंगो लाग्ने १८ जना केन्द्रीय सदस्यको लागि ७८ जना प्रतिस्पर्धी थिए। निर्वाचनमा सुशील कोइरालाले सर्वाधिक ९७६ मत पाएका थिए। निर्वाचित हुने अन्य सदस्यहरुमा रामचन्द्र पौडेल (९२७), डा शशांक कोइराला (९१८), अर्जुननरसिंह केसी (८५२), महन्थ ठाकुर (८५२), खुमबहादुर खड्का (७८१), बलदेव मजगैया (७७८), डा रामशरण महत (७७४), सुजाता कोइराला (७७४), डा रामवरण यादव (७६५), भीमबहादुर तामाङ (७०३), महेश आचार्य (७०१), मीना पाण्डे (६४९), कृष्णप्रसाद सिटौला (६४६), शैलजा आचार्य (६४५), बलबहादुर राई (५८३), चक्र बास्तोला (५३२) र मानबहादुर विश्वकर्मा (५१३) थिए।
बाह्रौं महाधिवेशन (२०६७ असोज)
बाह्रौं महाधिवेशनमा पदाधिकारीमा सभापति, महामन्त्री र कोषाध्यक्षको लागि निर्वाचन भएको थियो। त्यस्तै, केन्द्रीय कार्यसमितिका ६१ पदका लागि निर्वाचन भएको थियो। एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र २१ जना केन्द्रीय कार्यसमिति सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था थियो। २१ जनामा महिला, मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिम समुदायबाट एकए जना र १६ जना खुलाबाट मनोनित गर्ने व्यवस्था थियो।
सभापितमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ प्रत्यासी थिए। कुल ३०८८ मतमध्ये ३०६२ मत खसेको थियो। १५ मत बदर भएको थियो। जसमा विजयी कोइरालाले १६५२ मत पाए। त्यस्तै, देउवाले १३१७ र तामाङले ७८ मत पाए।
महामन्त्रीका प्रत्यासी थिए, प्रकाशमान सिंह, विमलेन्द्र निधि र नरहरि आचार्य। महामन्त्रीमा सिंह विजयी भए। ३०६४ मत खस्दा उनले १६५६ मत पाए। त्यस्तै, निधिले १२२६ र आचार्यले १५२ मत पाए।
त्यस्तै, कोषाध्यक्षमा पद्मनारायण चौधरी र चित्रलेखा यादव प्रतिस्पर्धी बनेका थिए। कोषाध्यक्षमा यादव विजयी भइन्। उनले १५५९ मत पाइन्। चौधरीले १४२० मत पाइन्।
केन्द्रीय कार्यसमितिका ६१ सदस्यको लागि निर्वाचन भयो। जसअनुसार, खुलाबाट २५, अञ्चलबाट १४, महिलाबाट ६, दलितबाट २ महिलासहित ५, मधेसीबाट २ महिलासहित ५, आदिवासी जनजातिबाट २ महिलासहित ५ र मुस्लिमबाट १ जनाका लागि निर्वाचन भएको थियो।
केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) गगन थापा (२०६१) , अर्जुननरसिंह केसी (२०३४) , खुमबहादुर खड्का (१७९१), शशांक कोइराला (१७६७), प्रदीप गिरि (१७४१), सुजाता कोइराला (१७३९), रामचन्द्र पौडेल (१७०३), रामशरण महत (१६९९), बालकृष्ण खाँड (१६०६), एनपी साउद (१५५६), शेखर कोइराला (१५३१), महेश आचार्य (१५०१), मिनेन्द्र रिजाल (१४३५), प्रकाशशरण महत (१३८२), कृष्ण सिटौला (१३७३), चन्द्र भण्डारी (१३६८), नारायण खड्का (१३४०), बलबहादुर केसी (१२८६), गोपालमान श्रेष्ठ (१२८६), पूर्णबहादुर खड्का (१२४६), शंकर भण्डारी (१२१९), कुलबहादुर गुरुङ (११५५), मनमोहन भट्टराई (१०८०), ज्ञानेन्द्रबहादुर कार्की (१०६८), दीपकुमार उपाध्याय (१०२०) निर्वाचित भए।
केन्द्रीय सदस्यमा अञ्चलतर्फबाट (१४ जना) नरेन्द्र नेम्वाङ (मेची/१३००) , आमोदप्रसाद उपाध्याय (कोशी/१२७५), रामकुमार चौधरी (सगरमाथा/१०७५), आनन्द ढुंगाना (जनकपुर/११५९), नवीन्द्रराज जोशी (बागमती/१३७५), रमेश रिजाल (नारायणी/१०८९), सुरेन्द्र पाण्डे (गण्डकी/१०१७), कृष्णचन्द्र नेपाली (लुम्बिनी/१०८०), अर्जुन जोशी (धौलागिरि/१२८९), दीपक गिरी (राप्ति/१४०९), जीवनबहादुर शाही (कर्णाली/१३०८), किशोरसिंह राठौर (भेरी/१०४९), बद्री पाण्डे (सेती/११४४) र दिलेन्द्र बडु (महाकाली/१४२७) निर्वाचित भए।
त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) पुष्पा भुसाल (१५०२), मीना पाण्डे (१४१३), कमला पन्त (१२६८), अम्बिका बस्नेत (१०८८), महालक्ष्मी उपाध्याय डिना (१००७) र ईश्वरी न्यौपाने (८३१) निर्वाचित भए।
दलिततर्फबाट (२ महिला सहित ५ जना) मानबहादुर विक (१४०५), मीन विश्वकर्मा (११४५), जीवन परियार (९५९), सुजाता परियार (१६४८) र कविता सरदार (बातर) (१२३७) निर्वाचित भए।
मधेसीतर्फबाट (२ महिला सहित ५ जना) उमाकान्त चौधरी (१०८७), अजय चौरसिया (९६३), महेन्द्र यादव (९१४), मिनाक्षी झा (१४४४) र पार्वती डिसी चौधरी (१४५७) निर्वाचित भए।
आदिवासी जनजातितर्फबाट (२ महिलासहित ५ जना) भीष्म आङ्दम्बे (८३४), सूर्यमान गुरुङ (७३२), धनबहादुर गुरुङ (६६७), सीता गुरुङ (१००३) र रत्ना शेरचन (८७८) निर्वाचित भए।
मुस्लिम तर्फबाट (१ जना) मो. अफताव आलम (१२६६) निर्वाचित भए।
तेह्रौं महाधिवेशन (२०७२ फागुन)
बाह्रौं र तेह्रौं महाधिवेशनमा निर्वाचित हुने संख्या उस्तै थियो। पदाधिकारीमा सभापति, महामन्त्री र कोषाध्यक्षको लागि निर्वाचन भएको थियो। त्यस्तै, केन्द्रीय कार्यसमितिका ६१ पदका लागि निर्वाचन भएको थियो। यसरी ६४ पदका लागि भएको निर्वाचनमा ३१२ जना प्रतिस्पर्धी थिए।
महाधिवेशनमा एक सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धी भएका थिए। सभापतिको निर्वाचन दुई चरणमा भएको थियो। पहिलो चरणको निर्वाचनमा देउवाले १५६४ मत पाए। उनलाई बहुमतका लागि ११ मत कम भयो। दोस्रो भएका पौडेलले ११६० र तेस्रो भएका सिटौलाले ३२४ मत पाए। कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच निर्वाचन भयो। दोस्रो चरणमा सिटौलाले देउवालाई सघाए। दोस्रो चरणको निर्वाचनमा ३१६१ मतदातामध्ये ३१४० मत खसेको थियो। त्यसमध्ये २२ मत बदर भएको थियो। जसमध्ये देउवाले १८२२ मत पाए। पौडेलले भने १२९६ मत पाए।
त्यस्तै, एक जना महामन्त्रीका लागि शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा प्रतिस्पर्धी बनेका थिए। विजयी कोइरालाले १४१७ मत पाए। त्यस्तै केसी र थापाले क्रमशः १०१७ र ५८४ मत पाए।
त्यस्तै, कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धी बनेका थिए। विजयी सीतादेवी यादवले १२१७ मत पाइन्। त्यस्तै चित्रलेखा यादव, चौधरी र कार्कीले क्रमशः १२०९, ४५७ र ६६ मत पाए।
केन्द्रीय सदस्यमा खुलातर्फबाट (२५ जना) शेखर कोइराला (१८४८), खुमबहादुर खड्का (१८४६) , प्रकाशमान सिंह (१७९५), कुलबहादुर गुरुङ (१७७३), प्रदीप गिरि (१७२५), प्रदीप पौडेल (१७०९), बालकृष्ण खाण (१७०४), धनराज गुरुङ (१६९७), रमेश लेखक (१६८९), पूर्णबहादुर खड्का (१६८६), विमलेन्द्र निधि (१६८०), बलबहादुर केसी (१६७४), महेश आचार्य (१६६९), विश्वप्रकाश शर्मा (१६२०), सुजाता कोइराला (१६१९), रामशरण महत (१६११), एनपी साउद (१५४७), शंकर भण्डारी (१५४७), ज्ञानेन्द्र कार्की (१५०२), गोपालमान श्रेष्ठ (१४९९), चन्द्र भण्डारी (१४९२), प्रकाशशरण महत (१४९१), बद्री पाण्डे (१४८५), नारायण खड्का (१४६४) र मीनेन्द्र रिजाल (१४२०) निर्वाचित भए।
केन्द्रीय सदस्यमा प्रदेशतर्फबाट (१४ जना) गुरुराज घिमिरे (प्रदेश १/ १३४०) , भिष्म आङ्दम्बे (प्रदेश १/ १२०८), रमेश रिजाल (प्रदेश २/ १४५७), आनन्द ढुंगाना (प्रदेश २/ १४६१), मोहन बस्नेत (प्रदेश ३/ १०६७), नवीन्द्र राज जोशी (प्रदेश ३/ १२२५), सुरेन्द्र पाण्डे (प्रदेश ४/१२८६), गोविन्द भट्टराई (प्रदेश ४/१२९९), देवेन्द्र कँडेल (प्रदेश ५/१३४७), दीपक गिरी (प्रदेश ५/१४७२), जीवनबहादुर शाही (प्रदेश ६/ १५२६), हृदयराम थानी (प्रदेश ६/ १६१२), दिलेन्द्र बडु (प्रदेश ७/१६०२) र वीरबहादुर बलायर (प्रदेश ७/१३८५) निर्वाचित भए।
त्यस्तै, केन्द्रीय सदस्यमा महिलातर्फबाट (६ जना) डिला संग्रौला (१५६४), पुष्पा भुसाल (१२६७), कमला पन्त (११३०), सरिता प्रसाईं (९८७), अम्बिका बस्नेत (९३७) र ईश्वरी न्यौपाने (९३५) निर्वाचित भए।
दलिततर्फबाट (२ महिलासहित ५ जना) मानबहादुर विश्वकर्मा (१४०२), मीन विश्वकर्मा (१३१३), जीवन परियार (१४८१), सुजाता परियार (१५०२), लक्ष्मी परियार (१५१९) निर्वाचित भए।
मधेसीतर्फबाट (२ महिलासहित ५ जना) अजय चौरसिया (१३४२), महेन्द्र यादव (१२३६), पार्वती डिसी चौधरी (११३०), रामकृष्ण यादव (१२००) र किरणदेवी यादव (१३३६) निर्वाचित भए।
आदिवासी जनजाति तर्फबाट (२ महिलासहित ५ जना) बहादुरसिंह लामा (७६७), सीता गुरुङ (१२७४), चीनकाजी श्रेष्ठ (९४७), कल्याण गुरुङ (७३४) र रत्ना शेरचन (८४६) निर्वाचित भए। मुस्लिम तर्फबाट (१ जना) फरमुल्ला मन्सुर निर्वाचित भए।
चौधौं महाधिवेशन (२०७८ मंसिर)
यो महाधिवेशनले अधिकांश पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ। एक जना कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य पछि मनोनित हुनेछन्। यसरी १६८ सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुनेछः
पदाधिकारी
सभापति- १ जना
उपसभापति- २ जना
महामन्त्री- २ जना
सहमहामन्त्री- ८ जना [महिला- १, आदिवासी जनजाति- १, दलित- १, मधेसी- १, खसआर्य- १, थारु- १, मुस्लिम- १, पिछडिएको क्षेत्र- १]
कोषाध्यक्ष- १ [सभापतिबाट प्रस्तावित भई निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित/ मनोनित]
केन्द्रीय सदस्यहरुः
खुला– ३५ जना
महिला- ९ जना
प्रदेश- २१ जना [प्रत्येक प्रदेशबाट एक जना महिलासहित ३ जना]
दलित – ९ जना [४ जना महिलासहित]
आदिवासी जनजाति- १५ जना [७ महिलासहित]
खसआर्य- १३ जना [६ महिलासहित]
मधेसी- ९ जना [४ महिलासहित]
थारु- ४ जना [२ महिलासहित]
मुस्लिम- ३ जना [१ महिलासहित]
पिछडिएको क्षेत्र- १ जना
अल्पसंख्यक- १
अपांगता भएका- १
सभापतिबाट मनोनित- ३३ जना [एक तिहाइ महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अलपसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी सभापतिले मनोनित गर्ने]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।