काठमाडौं- नेपालका तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि राज्यका शक्तिशाली निकायहरूले सूक्ष्म अनुसन्धान सुरु गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रक्रियालाई अगाडि बढाएको हो।
प्रहरी स्रोतका अनुसार अनुसन्धानको सूचीमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' रहेका छन्। यस्तै, पूर्वमन्त्रीद्वय आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेको चल-अचल सम्पत्ति र आम्दानीको स्रोतमाथि पनि प्रश्न उठाइएको छ। पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणालाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ।
अनुसन्धान गत २४ भदौमा भएको आगजनीको घटनासँग जोडिएको छ। सो क्रममा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र पूर्वमन्त्री खड्काको निवासबाट जलेका नोटका टुक्राहरू फेला परेका थिए। घरमा ठूलो परिमाणमा नगद रहेको र त्यो आगलागीमा परेपछि विभागले प्रारम्भिक छानबिन गर्दा कैफियत फेला पारेको थियो। सोही आधारमा विभागले विस्तृत अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।