फाइल तस्बिर
पोखरा- गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन्।
अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन्।
हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।
भूगोलविद् प्रा डा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताए। उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे।
रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रस्टयाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताए। उनले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेञ्चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औंल्याए।
सो अवसरमा कुलपति गुरुङले प्रकाश थापाद्वारा लिखित पुस्तक ‘लाङटाङदेखि लण्डन’सम्मको सार्वजनिक गरेका थिए। उक्त पुस्तकबारे चर्चा गर्दै नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई समेटेको र पुस्तक पढ्नेलाई घुम्न प्रेरित गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।