काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी चयन हुँदैछन्। १३ जना पदाधिकारीमा महिलामा १ जनाको मात्रै प्रतिनिधित्व हुने देखिएको छ। त्यो पनि विधानले व्यवस्था गरेको महिला कोटामा।
कांग्रेसले विधानमै एक सह–महामन्त्री महिला हुनुपर्ने व्यवस्था गरेको छ। उक्त पदमा बाहेक अन्यमा महिला नेतृहरुले आकांक्षा नै प्रस्तुत गरेका छैनन्। बरु आरक्षित एउटै पदमा धेरै जना महिला नेताहरुको उम्मेदवारी पर्ने सम्भावना बढेको छ।
महिला सहमहामन्त्रीमा उम्मेदवारी दिने आकांक्षा पुष्पा भूसाल , चित्रलेखा यादव र डिना उपाध्यायले संस्थापन पक्षबाट गरेका छन्। संस्थापनइतरबाट डिला संग्रौला, कमला पन्त, सीता गुरुङ र ईश्वरी न्यौपानेले सहमहामन्त्रीमा दाबी गरिरहेका छन्।
विधानमा पदाधिकारीमा महिलाको एउटा सिट सुनिश्चित गरिए पनि व्यवहारमा थप केही स्थानमा महिला ल्याउने वातावरण बन्नेमा कांग्रेस नेतृ पुष्पा भूसाल आशावादी थिइन्। कांग्रेस महाधिवेशनको चर्चा सुरु हुँदै गर्दा नेपाल लाइभको 'बहसमा कांग्रेस'मा कुराकानी गर्दै उनले भनेकी थिइन्, 'प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित भयो। प्रतिनिधित्वको अर्थ नेतृत्व विकास हो, तर नीति निर्माणमा महिलाको संख्या बढाउन पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ। कांग्रेसले आफूलाई महिलामैत्री देखाउन पनि पदाधिकारीमा महिलाको संख्या बढाउनेछ।'
सहमहामन्त्री महिला अहिले विधानमा लेखिए पनि पदाधिकारीमा महिला समेट्ने कांग्रेसको परम्परा रहेको र अहिलेको संख्यामा वृद्धि हुनुपर्ने उनको बुझाइ छ। तर, महाधिवेशनको एक दिन अघिसम्म कुनै गुटले पनि सहमहामन्त्री (महिला) बाहेकबाट पदाधिकारीमा महिलालाई स्थान दिने संकेत गरेका छैनन्।
सभापतिकी दाबेदार सुजाता कोइराला 'रेस'बाट केही समयअघि नै बाहिरिइसकेकी छन् भने वर्तमान कोषाध्यक्ष सीतादेवी यादवलाई त्यसभन्दा अगाडि बढाउने विषयमा नेतृत्व सकारात्मक देखिँदैन।
गुटको राजनीति बाधक
नेपालका सबैजसो राजनीतिक दलहरु गुटबाट गुज्रिरहेका छन्। कांग्रेस पनि स्थापनाकालदेखि यसको अभ्यास गरिरहेको छ र असर भोगिरहेको छ। महिलालाई नेतृत्वमा अघि बढ्न गुटगत राजनीतिले पनि छेकबार लगाइरहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम बताउँछिन्।
उनले भनिन्, 'निर्वाचनमा जाँदा निश्चित गुटमा नपरी जित्ने सम्भावना हुँदैन। कार्यकारी पद वा पदाधिकारीमा महिलाले दाबी गर्नुभन्दा पहिले पुरुषहरुको व्यवस्थापनमा समस्या आउँछ। त्यसपछि फेरि महिलालाई समावेशी कोटामै व्यवस्थापन गर्नुपर्छ।' त्यस्तो अवस्था नहुँदा महिलाहरुले जुनसुकै पदमा आफूलाई उभ्याउन सक्ने उनको भनाइ छ।
कांग्रेसकै अर्की केन्द्रीय सदस्य किरण यादव पनि गुटगत र नेताको निकटताका आधारमा टिकट पाउने भएकाले पनि महिलाहरुलाई कोटा बाहिरबाट उठ्ने निर्णय गर्न समस्या परेको बताउँछिन्। उनले भनिन्, 'पार्टीमा विभिन्न खेमा छ। म पनि कुनै खेमामा छु। त्यहाँ सल्लाह गर्नैपर्छ। त्यसपछि मात्रै उम्मेदवारी तय गर्नुपर्ने बाध्यता छ।'
कांग्रेस केन्द्रीय सदस्य कमला प्रसाईं पनि अहिल्यै अन्य पदमा महिलाहरुलाई पत्याउने अवस्था सिर्जना हुन नसकेको बताउँछिन्। कसैले आँट गर्दा पनि जित्न सहज नभएको उनको बुझाइ छ। उनले थपिन्, '१४औं महाधिवेशनमा त भन्न सक्दिनँ, तर १५औं मा भने आरक्षण बाहेकका पदमा समेत उम्मेदवारी दिने र जित्ने अवस्था बन्छ।'
खुला सदस्यमा हार्दाको झस्काइ
नेपाली कांग्रेसको पदाधिकारीमा मात्रै होइन, केन्द्रीय कार्यसमितिमा समेत महिलाले आरक्षित कोटाभन्दा बाहिर गएर उम्मेदवारी दिने सम्भावना कम छ। विधानमै केन्द्रीय समितिको एक तिहाइ अर्थात् ३३ प्रतिशत महिला समेट्नुपर्ने उल्लेख छ। यही वैधानिक व्यवस्थाभित्रै आकांक्षीहरु अटाउने एउटा सम्भावना हो भने अर्को, १३ औं महाधिवेशनमा खुला सदस्य उठ्दा पराजय बेहोरेकी महालक्ष्मी उपाध्याय डिनाको नियति।
दुई कार्यकाल महिला कोटाबाट केन्द्रीय सदस्य बनिसकेकी डिनाले १३ औं महाधिवेशनमा खुलाबाट प्रतिष्पर्धा गरिन्। उनलाई लागेको थियो- आरक्षणबाट अरु महिलालाई अवसर दिउँ। मेरो योगदानको कदर पार्टी कार्यकर्ताले गरिहाल्छन्।
नतिजा उनले अपेक्षा गरेजस्तो आएन। उनी केन्द्रीय सदस्यमा पराजित भइन्। उनको पराजय कांग्रेसमा राजनीति गरिरहेका धेरै महिलाका लागि अनपेक्षित भयो। यसले खुला प्रतिस्पर्धामा उत्रिनुअघि एकपल्ट सोच्नुपर्ने बनाएको छ।
खुलामा डिनाले हार्नुको कारण कांग्रेसभित्रको 'निश्चित सञ्जाल' रहेको कांग्रेस सांसद रंगमति शाही बताउँछिन्। नेपाल लाइभको कांग्रेस महाधिवेशन केन्द्रित शृंखला ‘बहसमा कांग्रेस’मा बोल्दै उनले यस्तो बताएकी हुन्।
डिना आफूले भने संघर्षकै अर्को एउटा चरणका रुपमा लिएकी छिन्। उनी भन्छिन्, 'मैले हारेर जितेकी हुँ। त्यही हारका कारण केन्द्रीय कमिटीमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्यारउन सफल भएका छौं।'
आफूलाई हराउने अनेक तत्वमध्ये खुलामा महिलाले जित्दा 'ओज बढ्ने' केहीको सोचले काम गरेको उनले केही समयअघि नेपाल लाइभसँगको कुराकानीमा बताएकी थिइन्। उनी भन्छिन्, 'म सरहकै राजनीति गरेकाहरुमा यसले खुला जित्दा यसको ओज बढ्छ भन्ने लागेको रहेछ। त्यसैले टिमभित्र पनि अन्तरघात भयो।' महिलालाई नेता नमान्ने सोचले २०४८ सालको संसदीय चुनाव हारेको उनले स्मरण गरिन्। उनले सम्झिइन्, '२०४८ सालमा मैले सांसद हार्नुपर्ने कारण पछि आएर केही मान्छेले सुनाए। त्यो के रहेछ भने धेरै नेताहरुलाई जिति भने यो नेता हुन्छे, हामी अन्डरमा बस्नुपर्छ भन्ने लागेको रहेछ।'
कांग्रेसमा महिला सहभागिताको विगत
नेपाली कांग्रेसको राजनीतिमा महिला सहभागिताको विगत हेर्दा द्वारिकादेवी चन्द ठकुरानीको नाम अग्रपंक्तिमा देखिन्छ। ठकुरानी २०१५ सालको आमनिर्वाचनमा निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बनेकी थिइन्। कांग्रेसमा अहिलेसम्म महिला पुगेको उच्च पद उपसभापति हो जहाँ शैलजा आचार्य पुगेकी थिइन्।
शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बनेका छन्। चित्रलेखा यादव पार्टीको कोषाध्यक्ष र संसदको उपसभामुख बनेकी छन्। सीतादेवी यादव १३ औं महाधिवेशनबाट कोषाध्यक्ष बनेकी छिन्। सहभागिताका हिसाबले महिलाले अवसर पाए पनि अझै कांग्रेसको कार्यकारी तहमा भने महिलाको उपस्थिति देखिन सकेको छैन। १४औं महाधिवेशनमा पनि त्यसको संकेत देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।