काठमाडौं– ‘कमेडी च्याम्पियन’मार्फत चर्चामा आएका सुमन कोइरालाले टक शो सुरु गरेका छन्। ‘ओयर आर रियालिटी’ युट्युब तथा ‘मि टिभी एचडी’ च्यानलमार्फत उनको नयाँ टक शो प्रसारण भएको छ।
अकर्षक सेट डिजाइनमा सुरु गरिएको टक शोको नाम ‘कफी र कोइराला’ दिइएको छ। कमेडी विद्याबाट टक शोमा छिरेका सुमन कोइरालाले आफूले सक्दो प्रयास गरेका छन्। कमेडी क्षेत्रकै निर्देशक, प्रस्तोतालगायतको टोलीले सुरु गरेको यो कार्यक्रम अनौपचारिक कुराकानीमा आधारित टक शो हो।
समग्रमा कस्तो छ त कार्यक्रम?
कार्यक्रमको पहिलो एपिसोडमा अर्का कमेडियन सजन श्रेष्ठसँगको कुराकानी सार्वजनिक भएको छ। भारतीय निर्माता तथा टेलिभिजन प्रस्तोता करण जौहर भारतीय टेलिभिजन कार्यक्रम ‘कफी विथ करण’बाट केही प्रभावित देखिन्छ। नामले मात्रै नभएर कार्यक्रमको तीन सेग्मेन्टमध्ये एक करणकै कार्यक्रमको ‘र्यापिड फायर’बाट प्रभावित छ।
सुमन कोइरालाको कार्यक्रम टक शोमा अनौपचारिक किसिमको गफगाफ गर्न खोजिएको एउटा असफल प्रयास झैं लाग्छ। सुमन आफैं पनि कमेडी च्याम्पियनमार्फत ‘दले दाई’ नामले चर्चामा आएका थिए। कार्यक्रमभरमा उनले दिएका प्रस्तुतिमध्ये केहीले मात्रै राम्रो चर्चा पाएका थिए।
तर, टक शोमा भने सुमनको कमेडीको धङधङी पाइन्छ। कार्यक्रमको सुरुवातबाट नै सजनसँगको गफमा उनी बेलाबखत होच्याउने किसिमले प्रश्न गरेका देखिन्छन्। त्यो भन्दा महत्त्वपूर्ण त उनले गरिरहेको टक शोको शैली नै अपरिपक्क देखिन्छ। अनौपचारिक किसिमको कार्यक्रम गर्ने सोच त प्रष्ट छ। तर, कार्यक्रम न पूर्ण रुपमा अनौपचारिक कुराकानी जस्तो त न पूर्ण रुपमा औपचारिक। मिश्रित किसिमको शैलीमा कार्यक्रमलाई सुमनले चलाएका छन्। यो मिश्रित शैलीमा पनि सुमनले नयाँ पन दिन सकेका छैनन्।
यो टक शोको अर्को कमजोरी भने निर्देशनमा देखिन्छ। कमेडियन प्रनेश गौतमले निर्देशन गरेको कार्यक्रमलाई ‘फरक’ बनाउने होडमा ‘क्लिसे’ बनाइएको छ। कार्यक्रमको एक दृश्यमा सर्वसाधारणलाई सजन श्रेष्ठको बारेमा सोधिन्छ। त्यहाँ एक बृद्ध मानिससँग गरिएको कुराकानीले कार्यक्रम निर्देशन गर्ने गौतमलाई नै पनि टक शोको धेरै ज्ञान नभएको झल्किन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।