काठमाडौं– भारतको सर्वोच्च अदालतमा बलिउड अभिनेत्री कंगना रणावतलाई सामाजिक सञ्जालमा सेन्सर गर्न भन्दै उजुरी परेको छ।
कंगनाविरुद्ध भारतमा कानुनी व्यवस्था पालना गराइ राख्नका लागि उनले सामाजिक सञ्जालमा गर्ने हरेक पोस्टलाई सेन्सर गरिनुपर्ने माग राख्दै उजुरी गरिएको हो।
अधिवक्ता चरनजीत सिंह चन्द्रपालले कंगना विरुद्ध यो उजुरी दिएका हुन्। उनले उजुरीमा किसान आन्दोलनको विषयलाई लिएर कंगनाविरुद्ध देशैभर भएका उजुरीहरुलाई मुम्बईमा ल्याउन र अनुसन्धान गर्न माग राखेका छन्।
सँगै उनले दुई वर्ष भित्रमा अदालती प्रक्रिया पूरा गर्नेअघि मुद्दा अघि बढाउन पनि माग गरेका छन्। चन्द्रपालले भनेका छन्,‘कंगनाको बयान अपमानजनक मात्रै नभएर निन्दनिय छ। उनको अभिव्यक्तिको कारण लडाईं पनि हुन सक्छ। धार्मिक भावनामा पनि ठस पुग्न सक्छ। उनी सिखहरुको अपमान गर्दै उनीहरुलाई देशद्रोही पनि भनिरहेकी छिन्। देशको एकताको विरुद्धमा कंगनाले हरेक समय सामाजिक सञ्जालमा पोस्ट गरेकाले उनको पोस्टमा सेन्सर गरिनुपर्छ।’
सर्वोच्च अदालतमा दिइएको उजुरीमा अधिवक्ता चन्द्रपालले भारतको गृह मन्त्रालय सुचना प्रविधि तथा प्रसारण मन्त्रालयलाई पनि उल्लेख गरेका छन्।
कंगनाले भने आफूविरुद्ध भएको उजुरीलाई मजाकमा बनाएकी छिन्। उनले आफूविरुद्ध उजुरी भएको थाहा पाउने बित्तिकै सामाजिक सञ्जालमा त्यसमा प्रतिक्रिया दिएर लेखेकी छिन्,‘यो देशमा सबैभन्दा शक्तिशाली महिला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।