काठमाडौं– सन् १९४५ मा प्रकाशित उपन्यासकार जर्ज अर्वेलको लघुउपन्यास ‘एनिमल फार्म’माथि आधारित नाटक काठमाडौं, टेकुस्थित कौशी थिएटरमा आजबाट मञ्चन हुँदैछ। भारतका प्रशान्त कुमार नायरको नाट्य रुपान्तरणको आकांक्षा कार्कीको नेपाली अनुवाद तथा निर्देशनमा नाटक आजबाट मञ्चन हुने भएको हो।
सन् १९१७ बाट २३ वर्ष चलेको रुसी क्रान्तिको पृष्ठभूमिलाई लिएर व्यांग्यात्मक तरिकाले प्रस्तुत गरेको उपन्यासमा अर्वेलले जनावारहरुले मान्छेले झैं राजनीति गरेको कल्पना गरेका छन्।
झण्डै एक करोड मानिसले ज्यान गुमाएको उक्त क्रान्तिपछि सर्वसाधारणको अवस्थाको चित्रण र राज्यको लाचारीपनलाई व्यंग्य यो उपन्यासमा गरिएको थियो। सोही उपन्यासलाई लिएर रंगकर्मी आकांक्षा कार्की र कौशी थिएटरको टोलीले नाटक निर्माण गरेको हो।
कार्कीको निर्देशन तथा अनुवाद रहेको नाटकमा १६ जना कलाकारहरुको अभिनय छ। नाटकमा आयुष निरौला, इंगीहोपो कोइच सुनुवार, ओजश्वी भट्टराई, रिशिकेष बस्याल, प्रयास बान्तावा राई, रोशनी स्याङ्बो, रिजोन परियार, अभिशेक शर्मा, सेविता अधिकारी, बिनिता लामा गुरुङ, मारुती सापकोटा, कवी राई, आषिश काफ्ले, निर्भिक भट्टराई, विशाल क्षेत्री र धिरज थापा मगरले विभिन्न जनावरको रुपमा अभिनय गरेका छन्।
नाटकको स्क्रिप्टमा सुदाम सिकेले सहायता गरेका छन् भने प्रकाशमा क्षितिज पराजुली रहेका छन्। नाटकमा प्रयोग भएको संगीत स्त्रोतम सांगीतिक समूह (शिव कँडेल र मनिश नौबाघ)ले निर्माण गरेका छन्।
त्यस्तै, नाटकमा प्रयोग भएका हेडगियरहरु (कलाकारले लगाएको जनावरका टाउको) क्रिपा खड्की, जेनी सुनुवार, साकिरा थापा र सजन थापा मगरले निर्माण गरेका हुन्।
नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुन्छ भने हरेक शनिबार नियमित मञ्चनसँगै दिउँसो २ बजेपनि मञ्चन हुनेछ। नाटक पुस ३ सम्म प्रदर्शन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।