काठमाडौं- नारायणी किनारमा नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन हुँदै गर्दा एमालेजनसँग अध्यक्षमा केपी शर्मा ओलीलाई नै दोहोर्याउनुपर्ने अनेक कारण थिए। असमयमै सत्ताच्युत हुँदाको चोट मात्र होइन, गठबन्धनको घेराबन्दीसँग जुध्न ओलीको अनिवार्यता रहेको उनीहरु बताउँथे।
यस्तो बताउँदै गर्दा उनीहरुको एउटा अपेक्षा थियो- यसपल्ट नेतृत्व चयन सर्वसम्मत हुन्छ। नारायणी किनार पुगेका १० जना भन्दा बढी एमाले कार्यकर्तासँग संवाद गर्दा रोल्पाका बालाराम बस्नेतदेखि रौतहटका सञ्जयप्रसाद साहसम्मको समान धारणा थियो- सबैलाई मिलाएर लैजानुपर्छ।
सबैलाई मिलाउने सबैभन्दा ठूलो जिम्मेवारी अध्यक्षका रुपमा ओलीकै थियो। अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका भीम रावलसमेत ओलीसँग 'संवाद' चाहिरहेका थिए। उद्घाटनको दिन राति ११ बजे चितवनको सौराहामा रावलसँग नेपाल लाइभले कुरा गर्दैगर्दा उनी ओलीले 'सल्लाह नगरेको' गुनासो गरिरहेका थिए। जति दिन घर्किदै गयो, उति उनको गुनासो आक्रोशमा परिणत हुँदै गयो। अनि एकखाले अहं पनि बढ्दै गयो।
परिणाम, वडा र पालिकाका अधिवेशन सर्वसम्मत गरेर प्रतिनिधि समेत सर्वसम्मत नै चयन गरेको एमालेले केन्द्रीय कमिटीमा निर्वाचन गर्नुपर्यो।
पार्टीमा ओलीसँग फरक मत राख्ने ठूलो संख्या टुक्रिएर गइसकेको समयमा अध्यक्षमा ओलीको जित हुनु आश्चर्यको कुरा होइन। उनी एमालेमा कार्यकर्ता मात्रै होइन, 'फ्यान'समेत भएका नेता हुन्। अब भने आफ्नै अनुदार शैलीले बहुमनका अध्यक्ष ओली बहुमतमा खुम्चिनेछन्।
महत्त्वाकांक्षाले बिगारेको माहोल
नारायणी किनारमा उद्घाटन सत्र चल्दै गर्दा धेरैलाई लागेको थियो, 'कुन आड र आँटले भीम रावल ओलीसँग टक्राउँदैछन्। पहाडसँग कुम ठोक्काउन किन चाहन्छन्?' उद्घाटन सत्रको दिन सौराहमा हामीले उनलाई यही प्रश्न राखेका थियौं। उनको उत्तर थियो, 'मैले कुनै भयंकर अप्ठ्यारो कुरा छिचोलेर यो आँट गरेजस्तो लाग्दैन। यो स्वाभाविक रुपमा आएको छ। सैद्धान्तिक र संगठनात्मक दृष्टिकोणबाट हच्किनुपर्ने कारण नै छैन।'
हच्किनुपर्ने कारण नदेख्दा पनि रावलमा आत्मविश्वास थिएन। प्यानल नबनाउने एमालेको निर्णयका कारण उनीसँग समूह थिएन। यता ओलीको अवस्था भने बलियो थियो। बेलुकी ८ बजे बोलाएको बैठकमा ओली १२ बजे आउँदा पनि केन्द्रीय कमिटीका नेताहरु हर्षित नै थिए।
ओली आउनुअघि नै केन्द्रीय कमिटी बैठक हुने हलमा एउटा हल्ला आइपुग्यो- विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाइँदैछ। हामीले हलमा उपलब्ध नेताहरुसँग 'भेरिफाइ' गर्ने कोसिस गर्यौं, सबैभन्दा अगाडिको टेबलमा बसिरहेका अध्यक्षका प्रत्यासी भीम रावललाई सोध्यौं। उनीसँग ओलीको सल्लाह त के, हामीले जस्तै हल्ला समेत उनले सुनेका रहेनछन्। हाम्रो भनाइमा विश्वास नै गरेनन्।
त्यसपछि उभिएर गफ गरिरहेका घनश्याम भुसालको काननजिकै मुख लिएर सुस्तरी सोध्यौं। उनले सदाबहार शैलीमा भने, 'मसँग तपाईंसँग जति पनि सूचना छैन।'
त्यसपछि पल्लो कुनाको अग्रभागमा बसिरहेका सुवास नेम्वाङ नजरमा परे। उनीसँग सूचनाको भेरिफाइ गरियो। नेम्वाङ शैलीमा उत्तर थियो, 'मैले पनि त्यस्तै-त्यस्तै हल्ला सुनेको छु।' नेम्वाङले यति 'क्लु' दिएपछि प्रस्ताव आउन लागेको सूचना सही रहेको अनुमान लगाउन सकिन्छ। किनभने उनी प्राय: यसैगरी प्रस्तुत हुन्छन्।
दुई महिनाअघि मात्रै गरिएको विधान अधिवेशनले गरेका निर्णय संशोधन गर्नुपर्ने कुरा केन्द्रीय कमिटीका उपाध्यक्ष र उपमहासिचवले जानकारी नपाउनु सामान्य कुरा होइन। दिउँसो मञ्चमा खचाखच कार्यकर्ताबाट 'आई लभ यू' सुनेका ओली आफूले बोलेका कुरा 'वाणी' र गरेको काम खोटरहित हुने मनोवृत्तिमा पुगेको यसैले देखाउँथ्यो।
त्यसपछिका दिनमा यो क्रम बढ्यो। उनले फरक मत राख्नेहरुको कुरा 'इग्नोर' गर्दै गए। महत्त्वाकांक्षाले उनलाई फुलाउँदै लग्यो। केन्द्रीय कमिटीको नाम एकलौटी प्रस्ताव गर्ने अधिकार हासिल गर्ने ठाउँसम्म पुर्यायो।
नारायणी किनारमा देखिएको त्यो अनुकूल माहोल सौराहाको आँगनमा आइपुग्दा बिग्रिँदै गएको थियो। अन्ततः उनलाई बाहिरबाट मात्रै होइन, आफ्नै गुटभित्रका नेताहरुको 'प्रेसर' समेत थेग्न मुश्किल पर्यो।
छुद्र टिप्पणी, हेपाह प्रवृत्ति
लोकतान्त्रिक प्रणाली अवलम्बन गरेको पार्टीमा निर्वाचन हुनु ठूलो कुरा होइन। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता बोकेको जनताको बहुदलीय जनबाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेले त झन् यसलाई प्रोत्साहन गर्नुपर्ने हो। तर, एमालेको महाधिवेशनको माहोलमा त्यस्तो देखिएन। केन्द्रीय कमिटीको नाम प्रस्तुत गर्ने सर्वाधिकार पाएका ओलीविरुद्ध बन्दसत्रमा बोल्ने उपाध्यक्ष भीम रावलमाथि त्यहीँ छुद्र टिप्पणी गरिए। उनले आफ्नो शक्तिलाई यसरी प्रस्तुत गरे, 'केका लागि लड्ने विचार गरेको हो? अधिकारको प्रयोग मात्रै गर्न? निष्कर्ष त उस्तै-उस्तै निस्किने होला।'
ओलीले आफू कमजोर भएका बेला आफ्ना विचार दबाइएको तीतो क्षण बिर्से। आठौं महाधिवेशनका क्रममा सम्भवतः ओलीले आफू पराजित हुने प्रक्षेपण गरेकै थिए। किन लडे?
यसपल्ट एक भएर अघि बढ्नुपर्ने कुरा एमाले दृष्टिमा अनुचित होइन। आउँदै गरेका दुई निर्वाचनमा एमालेको जितका लागि आन्तरिक एकता सबैभन्दा महत्त्वपूर्ण पाटो हो। त्यसको महसुस आम कार्यकर्ताले गरेका छन्। एकता अहंकारले होइन, समन्वयले सम्भव हुने कुरा अध्यक्ष ओलीले उहिल्यै बिर्सेका हुन्। उनलाई सम्झाउने आँट भएको व्यक्ति एमालेमा छैनन्।
हलभित्र ओलीले रावलको आवाजलाई आफ्ना समर्थकले बजाएको तालीका सहारामा दबाउने प्रयास गरे। बन्दसत्र हलबाहिर ओलीका कार्यकर्ताले रावलको फरकमत छापिएको पुस्तिका समेत बाँड्न दिएनन्। कम संख्याको उपस्थितिलाई बहुमतबाट पेल्ने प्रयासले पार्टीमा फरक मत राख्नेहरुलाई स्पेस नरहेको स्पष्ट पार्यो।
चितवनको हात्ती जस्तै ठूलो पार्टी बनाउने एमाले कार्यकर्ताको चाहना छ, ओलीको यही कार्यशैलीले निरन्तरता पाउने हो भने एमाले सौराहाको एकसिंगे गैडा जस्तै लोपोन्मुख बन्न पनि बेर लाग्नेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।