काठमाडौं- नेकपा एमालेमा महासचिवका बलिया दाबेदार मानिएका विष्णु पौडेललाई उपाध्यक्षतर्फ धकेल्दै महासचिव हासिल गर्न सफल भएका छन् शंकर पोखरेल। धेरैको मनमा एउटा प्रश्नले डेरा जमाएको हुनुपर्छ- एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा समेत महासचिव बनेका पौडेल एमालेकै महासचिव किन बन्न सकेनन्? अर्का प्रत्यासी सुरेन्द्र पाण्डे भने महाधिवेशन सुरु हुनु केही दिनअघि नै महासचिवको रिङबाट बाहिर परिसकेका थिए।
तीन दिन लामो घम्साघम्सीपछि पोखरेलले आइतबार राति पौने ९ बजेतिर महासचिवमा बाजी मारेका हुन्। त्यो समयसम्म केन्द्रीय कमिटीकै 'व्यवस्थापकीय' काममा सक्रिय पौडेलले अन्तिम समयमा आफूले उपाध्यक्षमा उक्लिनुपर्ने सुइँको पाएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताका अनुसार आइतबार राति साढे ८ बजे लगभग सबै पदमा प्रस्ताव गरिने नामको टुंगो लाग्यो। बाँकी थियो, उपाध्यक्ष एक पद र महासचिव। कसलाई बनाउने भनेर ओली समूहका शीर्ष नेताहरुबीच छलफल सुरु भयो। छलफलकै क्रममा ओलीले नेताहरुलाई भने, ‘महासचिव मलाई नै रोज्न दिनुहोस्।’
केन्द्रीय सदस्यसहित अन्य पदाधिकारीको सूची हातमा बोकेका महासचिवका प्रत्यासी पौडेलले त्यो डकुमेन्ट ओलीलाई बुझाए। ओलीको रोजाइमा परे, पोखरेल। पौडेलको नाम उपाध्यक्षमा लेखियो।
पहिल्यै गरेका थिए संकेत
एमालेले लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको र केही कम्युनिस्ट पार्टीमा अझै पनि सो पद नै प्रमुख हुने व्यवस्था भएका कारण पनि यसको थप महत्त्व छ। मुख्य रुपमा भने, पार्टीभित्र पकड, आगामी नेतृत्वमा उक्लिने सिँढी र बाह्य प्रभावको हिसाबले एमालेमा महासचिवलाई निकै महत्त्वका साथ लिइन्छ।
पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन सक्ने संकेत ओलीले विधान महाधिवेशनमै गरेका थिए। गत असोज १५ गते भएको एमालेको प्रथम विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओली आफ्नो राजनीतिक प्रतिवेदन पढिरहेका थिए। रुघा र खोकीका कारण असहज महशुस गरिरहेका उनले केही बेरमा शंकर पोखरेललाई खोजे। र भने- 'कमरेडहरु, मलाई अलिकति रुघाखोकीको कारणले प्रतिवेदन प्रस्तुत गर्न अलि समस्या भएकाले म कमरेड पोखरेललाई आग्रह गर्छु। मेरो तर्फबाट उहाँले प्रस्तुत गर्नुहुन्छ।'
पढ्दापढ्दै गाह्रो भएपछि अर्को व्यक्तिलाई पूरा गर्न लगाउनु सामान्य हो। तर, ओलीले जसलाई रोजे, त्यसलाई भने विभिन्न अर्थ लगाइयो। एमालेका कतिपय नेता तथा कार्यकर्ताले त्यतिबेलै अड्कल लगाए- ओलीले आफ्नो उत्तराधिकारीको रुपमा पोखरेललाई रोजे!
महाधिवेशनअघि अध्यक्ष ओली पूर्वदेखि पश्चिमका विभिन्न कार्यक्रममा पुगे। ती कार्यक्रममा नछुट्ने नेता थिए शंकर पोखरेल। ओलीलाई प्रमुख अतिथि भनेर निम्त्याइएको मञ्चको प्रयोग पोखरेलले समेत गरे। त्यो एमाले कार्यकर्तामा 'स्वीकार्यता' बढाउने ओली रणनीति थियो। आगामी ‘उत्तराधिकारी’लाई ‘चिनाउने’ प्रयत्न पनि।
र उनै पोखरेल निर्विरोध एमाले महासचिव भएका छन्। ओलीले प्रस्तुत गरेको पदाधिकारीको अन्य केही पदमा थप उम्मेदवारी परेर निर्वाचन हुने स्थिति बनेको भए पनि पोखरेललाई चुनौती दिन कोही अघि सरेनन्।
केन्द्रबाट टाढिएको क्षतिपूर्ति महासचिव
पोखरेल एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। दुई जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल पहिलो र दोस्रो हुँदा पोखरेल तेस्रो भएका थिए।
२०७४ सालमा सम्पन्न आम निर्वाचनमा उनी प्रदेश सभाको लागि उम्मेदवार बने। माओवादी केन्द्रसँगको गठबन्धनका कारण उनले प्रदेश सभामै चित्त बुझाउनुपर्यो। उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेश सभा निर्वाचनको उम्मेदवार बनाइएको थियो। नेपालमा राज्य पुनःसंरचनाको बहसमा अन्य एमाले नेताभन्दा अघि बढेर पुस्तक समेत लेखिसकेका पोखरेल कालान्तरमा मुख्यमन्त्री पनि बने।
महाधिवेशनमा पराजित हुनु र लुम्बिनी प्रदेशको सांसद्/मुख्यमन्त्री हुनुले उनलाई केन्द्रीय राजनीतिबाट ओझेलमा पर्ने आकलन गरिएको थियो। तर, प्रदेशको राजनीतिक खिचातानीमा 'खुम्चिन' उनले सधैं अस्वीकार गरिरहे। तत्कालीन नेकपादेखि अहिलेको एमालेमा देखिएका आन्तरिक विवाद मिलाउन उनी लुम्बिनीबाट तत्काल काठमाडौं आइपुग्थे। उनको सक्रियता सधैं पार्टीको केन्द्रमा रहन्थ्यो, रहिरह्यो। सामाजिक सञ्जालमा उनले अभिव्यक्त गर्ने धारणाले पनि उनको दिमागमा हरबखत संघ र पार्टी केन्द्रको राजनीति नै रहने गरेको देखिन्छ।
बीचका केही वर्ष औपचारिक भूमिकाको सन्दर्भमा केन्द्रीय राजनीतिबाट टाढिनुपरेको क्षतिपूर्ति समेत पोखरेलले महासचिवमा बाजी मारेर देखाएका छन्।
उनले महासचिव प्राप्त गर्ने दाबी गर्दै उनीनिकट एक नेताले एक महिनाअघि भनेका थिए, 'ओली पक्षका विचारकका रुपमा उहाँलाई लिइन्छ। जबजलाई कार्यक्रममा सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेर उहाँले अनेरास्ववियुको अध्यक्ष हुँदा नै भन्नुभएको थियो। त्यहीबेला मदन भण्डारीले समेत उहाँलाई सम्भावना भएको नेता भन्नुभएको थियो।'
एमालेको छैटौं महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो। त्यसले पोखरेललाई अझ प्रभावशाली बनायो। सातौं महाधिवेशनमा उनले अघि सारेको संविधानसभामा जानुपर्ने विचारले उनलाई चर्चित बनाएको थियो। पछि एमाले संविधानसभा स्वीकार्ने ठाउँमा पुगेपछि उनको 'दूरदर्शिता'को प्रशंसा भयो।
उनी एमालेको ओली पक्षका विचारक हुन्। अर्को पक्षका घनश्याम भुसाल को विचारलाई काउन्टर दिनसमेत ओलीलाई महासचिव पोखरेल जस्तै व्यक्ति चाहिएको थियो। सधैं ओलीको साथमा रहेका पोखरेललाई 'उत्तराधिकार' दाबी गर्न उनको वैचारिक पृष्ठभूमिले सजिलो बनायो भने व्यवस्थापनमा कौशल रहेका पौडेललाई पछि पार्ने मुख्य हतियार नै यही भयो।
एमालेभित्रको राजनीतिमा आफ्नो भूमिकालाई निर्णायक बनाउँदै आएकी राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको साथ पनि पोखरेललाई थियो। किनकि, पोखरेलको राजनीतिक उदयदेखि नै उनलाई भण्डारीप्रति निकट नेताको रुपमा चिनिन्छ। अर्कोतिर, भण्डारीले अपनत्व महसुस गर्ने जबजप्रति पोखरेल जत्तिको प्रतिबद्ध नेता अरु छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।