काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
नारायणी नदी किनारमा एक समारोहबीच पार्टीको महाधिवेशन उद्घाटन हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्दैछन्। महाधिवेशन उद्घाटनका लागि नारायणी नदी किनारमा एमालेले भव्य मञ्च निर्माण गरेको छ। मञ्च निकै आकर्षक रुपमा निर्माण गरिएको छ।
महाधिवेशनका लागि एमालेले जिल्ला जिल्लाबाट नेता कार्यकर्तालाई चितवनमा उतारेको छ। एमालेले उद्घाटनसत्रमा ५ लाख मानिसलाई सहभागी गराउने दाबी गरेको छ।
बिहीबारदेखि नै जिल्लाहरुबाट एमाले नेता कार्यकर्ता चितवन पुगेका छन्।
हिजै चितवन पुगेकाहरु मध्ये धेरै विहानदेखिनै महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार आसपास पुगेका छन्।
कतिपय नदी किनारमा फोटो र सेल्फी खिच्न व्यस्त भएका थिए।
यो महाधिवेशनका लागि एमालेले श्रमिकले बोक्ने संकेतात्मक झण्डा गैंडालाई बोकाएर प्रचार गरेको छ। महाधिवेसनस्थल र त्यस वरपर जताततै गैंडाले बोकेको कम्युनिस्ट झण्डा यत्रतत्र राखेर प्रचार गरिएको छ।
मञ्च आसपास क्षेत्रमा ठूल ठूला एलसीडी राखिएका छन्। जसका कारणले सहभागीहरुले सहजै उद्घाटन सत्रको कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ। एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ जना हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।