काठमाडौं- तामाङ कलाकारहरु 'दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव'को तयारीमा जुटेका छन्। नेपाल तामाङ कलाकार संघको आयोजनामा यही मङ्सिर २४ र २५ गते काठमाडौंमा महोत्सव हुने भएको हो।
महोत्सव बौद्धस्थित होटल ह्यातको खुल्ला मैदानमा हुने कलाकार संघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
मौलिक तामाङ गीत, संगीतको संरक्षण र प्रवर्द्धनका साथै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विश्व दोङले बताए। 'महोत्सवमा हामी व्यावसायिक गीत संगीतलाई भन्दा पनि मौलिक गीत संगीतलाई प्राथमिकता दिनेछौं,' उनले भने, 'कार्यक्रमको दोस्रो दिन तामाङ समुदायको परम्परागत गीत संगीत, ताम्बा संस्कृति, परम्परागत बाजालगायत विषयमा अन्तरक्रियासमेत हुनेछ।'
महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष विशाल काल्तनले तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, सम्वर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने महोत्सवको मूल लक्ष्य रहेको बताए। एक वर्षअघि नै आयोजना गर्ने तयारी गरिएको महोत्सव कोरोना महामारीका कारण रोकिएको उनले बताए।
महोत्सवमा डम्फूको तालमा गाउने तामाङ सेलो, म्हेन्दोमाया, खन्दोके, फापरेलगायत तामाङ समुदायमा प्रचलित गीतहरुलाई समेटिने संयोजक काल्तनको भनाइ छ।
'महोत्सवमा मूल आकर्षणका रुपमा ताम्बा संस्कृति रहनेछ। ताम्बाहरुद्वारा डम्फूको महत्त्वमाथिसमेत परिचर्चा हुनेछन्,' अध्यक्ष दोङले भने, 'ताम्बा तथा मौलिक सेलो गीतहरुको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।