चितवन– नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ।
महाधिवेशनका लागि एमालेले ५ हजार स्वयंसेवक परिचालन गरिने जनाइएको छ। एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत स्वयंसेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले मंसिर १० गते उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन गर्ने जानकारी दिए। संयोजक श्रेष्ठले सुरक्षाका लागि सुरक्षाकर्मीसँग पनि सहकार्य गर्ने बताए। उद्घाटनको अघिल्ला दिन नारायणी किनारस्थित महाधिवेशन उद्घाटन स्थलमा रातो क्याप र ट्र्याक लगाएका स्वयंसेवक खटिएका देख्न सकिन्थ्यो।
एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेताहरु चितवन आउने क्रम जारी छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ। मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेका हुन्।
यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ। मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ। यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको दशौं महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक समेत रहेका नेता रामबहादुर थापा (बादल) ले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि आजै चितवन आइपुग्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।