काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १०-१२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन नारायणी नदी किनार र बन्त्र सत्र सौराहमा हुनेछ।
एमालेले यतिबेला नारायणी किनारमा भव्य मञ्च र सौराहको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा अस्थायी हल निर्माणको काम धमाधम गरिरहेको छ।
स्थानीय स्तरमा एमाले चितवनले महाधिवेशनलाई भव्य बनाउनका लागि मञ्च व्यवस्थापनदेखि लिएर अन्य आवश्यक तयारी गरिरहेको छ। एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण काम तीव्र गतिमा अघि बढेको जानकारी दिइन्।
नारायणी किनारमा बन्दै गरेको मञ्चमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने विभिन्न जिवजन्तु तथा पंक्षीहरूको तस्बिर देखिनेगरि फ्लेक्स राखिँदैछ। एमाले महाधिवेशन उद्घाटन समारोहमा कम्तीमा पाँख लाख मानिस सहभागी हुने अनुमान गरिएको छ।
उद्घाटनस्थलमा २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम समेत सुरू गरिएको छ। एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्।
मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने र त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने उनले बताए । यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिनेछन्।
थप तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।