काठमाडौं– बलिउडका फिल्म निर्देशक रोहित शेट्टी पछिल्लो समयका सफल निर्देशक हुन्। उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘सूर्यवंशी’ले कोरोना महामारीपछि सिनेमा हललाई फेरि सञ्चालन गर्नमा निकै राम्रो भूमिका खेलेको थियो। भारतसँगै नेपालमा पनि शेट्टीको निर्देशनमा बनेको फिल्मले दर्शकलाई महामारीपछि फेरि सिनेमा हलसम्म डोहोर्याएको थियो।
अहिले बलिउडसँगै हिन्दी भाषाका सिनेमाका दर्शकहरुका प्रिय रहेका निर्देशक शेट्टी कुनै बेला भने ३५ रुपैयाँमा काम गर्थे। भारतीय सञ्चारमाध्यमसँग हालसालै गरेको एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो तलब ३५ रुपैयाँ भएको बताएका छन्।
उनले भनेका छन्, ‘वास्तवमा यो कुनै सहज यात्रा थिएन। मानिसलाई म फिल्म क्षेत्रबाटै भएकाले यो सबै मेरो लागि सहज थियो जस्तो लाग्छ, तर मेरो लागि यो सजिलो थिएन। जब मैले काम सुरु गरे, तब मलाई ३५ रुपैयाँ मात्रै दिइन्थ्यो।’
रोहितले आफ्नो संघर्षको दिनलाई सम्झिँदै आफूलाई ‘स्ट्रिट फुड’ निकै मन पर्ने भएकाले कि गाडी भाडा कि खाना छान्नु पर्ने अवस्था पनि भएको बताएका छन्। सीमित कमाइ मात्रै हुँदा उनले एक छानेमा अर्को गुम्ने अवस्था भएको बताएका छन्।
फिल्म क्षेत्रमा लागेको सुरुवाती दिनमा रोहितले आफ्नो घरबाट काम हुने ठाउँसम्म हिँडदै गएको सम्झिएका छन्। रोहितले भनेका छन्, ‘त्यो बेला म आर्थिक रुपले निकै समस्यामा थिएँ। हामीसँग बस्नलाई घर पनि थिएन। म निकै टाढा हजुरआमाको घरमा बस्थेँ। त्यहाँबाट म आफ्नो काममा जानलाई डेढदेखि दुई घण्टासम्म हिँडेको छु।’
आफूले संघर्षका समयमा पैदल हिँडेकाले थुप्रै गल्लीहरुसँग परिचित भएको रोहितले बताएका छन्। उनले अहिले आफ्नो गाडीको ड्राइभरलाई बाटो देखाउँदाको प्रसंग निकाल्दै भनेका छन्, ‘अहिले मैले यो बाटो लिउँ भन्दा ड्राइभर मलाई हेरेर ‘सरलाई कसरी थाहा भयो र?’ भन्ने किसिमले सोच्छ होला।’
अहिलेका सुपरहिट फिल्म र भारतको आफ्नो सिनेमेटिक युनिभर्स ‘कप युनिभर्स’ बनाउन लागिपरेका रोहितले पहिलो पटक २००३ मा आफ्नो फिल्म यात्राको सुरुवात गरेका थिए।
बलिउडका एक्सन कोरियोग्राफर तथा अभिनेता एमबी शेट्टीका छोरा रहेका रोहितले २००३ मा पहिलो पटक ‘जमिन’ नामक फिल्मको निर्देशन गरेका थिए। सँगै रोहितले ‘बोल बच्चन’, ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’लगायतका फिल्मको निर्देशन गरेका छन्। उनले निर्देशन गरेको ‘गोलमाल’ फ्रेन्चाइज पनि बलिउडमा निकै रुचाइएको सिनेमामा पर्छ। सँगै उनी हाल भारतकै आफ्नो कप युनिभर्स अन्तर्गतका फिल्महरु निर्माणमा लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।