तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले १-१ गोलको बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा तीन पटकको लिग विजेता पुलिसले पहिलो र दोस्रो हाफमा आक्रमक खेल खेलेपनि आर्मीविरुद्ध जित निकाल्न सकेन।
पुलिसका लागि सन्तोष हेमरामले गोल गरेका थिए भने आर्मीका लागि विवेक बस्नेतले गोल फर्काएका थिए।
पहिलो हाफको १८ मिनेटसम्म आर्मी हाबी भएको खेलमा त्यसपछि अधिकांश समय भने पुलिसले आक्रमक खेल प्रदर्शन गरेको थियो।
त्यसअघि खेलको १०औं मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले करिब २५ यार्डबाट गरेको ससक्त प्रहार आकासिएको थियो।
यस्तै, १३औं मिनेटमा आर्मीका कप्तान भरत खवासले अर्को मौका खेर फ्याले। जर्जप्रिन्सले राइट साइटबाट फस्ट बारतर्फ दिएको कट पासलाई भरतले ‘ड्राइभ हेड’ गरेपनि पोष्टको दिशा लिन सकेन।
लगत्तै जगजित क्षेष्ठले दिएको पासलाई जर्जप्रिन्सले प्रहार गरेका थिए। तर, फस्ट बारमा गरेको प्रहार उपर बारमा लाग्दै फर्कियो। यद्यपि, रेफ्री कविन बेन्जकारले अपसाइडको संकेत दिए।
१८औं मिनेटमा सुमान लामा पुलिसलाई अग्रता दिलाउनबाट चुके। उनले करिब ३० यार्डबाट गरेको शक्तिशाली प्रहार निक्कै आकासियो।
२३औं मिनेटमा जर्जप्रिन्सले प्रहार गरेको फ्रिकिक बल रक्षात्मक बारलाई लाग्दै फर्कियो। आर्मीका मिडफिल्डर सन्तोष तामाङविरुद्ध पुलिसका अन्जन राईले खराब ट्याकल गरेका थिए। तर, जर्जप्रिन्सले करिब २५ यार्डबाट गरेको प्रहार पुलिसको रक्षात्मक बारमा लागेर फर्कियो।
४३औं मिनेटमा आर्मीले अर्को मौका खेर प्याँल्यो। सेसेहाङ आङदाम्बेले करिब ३४ यार्डबाट गरेको प्रहार मिडमा रहेका गोलरक्षकल सत्रुधन चौधरीले मुस्किले समाए।
दोस्रो हाफमा भने दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरेका थिए। ५०औं मिनेटमा आर्मीका राइट ब्याक गौतम क्षेष्ठले बृद्धबल तामाङलाई खराब फउल गरेपछि पुलिसले अग्रता लिने मौका पाएको थियो।
उक्त मौकालाई ५१औं मिनेटमा पुलिसले सन्तोष हेमरामले सदुपयोग गरे। तेज तामाङले करिब ३५ यार्डबाट प्रहार गरेको प्रिकिक बललाई उनले हेडमार्फत् पोष्ट दिशा देखाए।
त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले खेल बराबरीमा ल्याए। उनले पेनाल्टी बक्स अगाडीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
८७औं मिनेटमा आर्मीले अर्को मौका गुमायो। टेकबहादुर बुढाथोकीले गोलरक्षक सत्रुधन बिट भइसकेको अवस्थामा खाली पोष्टमा गोल गरेका थिए। तर, रेफ्री कविनले अफसाइडको संकेत दिए।
आर्मी पछिल्ला ४ खेलमा पुलिसविरुद्ध अपराजित छ। आर्मीले २०७५ मा पुलिसलाई १–० र २०७६ मा ४–२ ले हराएको थियो । वर्ष २०७० मा दुई टिमले १–१ को बराबरी खेलेका थिए।
२०६९ को लिगमा भने यी दुई टोलीबीच दुईपटक भेट भएको थियो। पहिलो खेलमा पुलिसले आर्मीलाई २-१ ले पराजित गर्यो भने अर्को खेलमा आर्मीले १-० को जित निकालेको थियो।
यस्तै, २०६८ को लिगमा भने पुलिस ४-० ले विजयी भएको थियो।
यस बराबरीसँगै पुलिस आर्मीले १/१ अंक बाँडेका छन्। आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।