काठमाडौं– कलाकारिता क्षेत्रमा सक्रिय रहेका र नाम कमाएका नेपाली कलाकारको अर्को पाटो पनि छ– व्यवसाय। सदाबहार अभिनेत्री करिष्मा मानन्धरदेखि पछिल्लो समयमा चर्चित अभिनेता प्रमोद अग्रहरीसम्म व्यवसायमा सक्रिय छन्। झन् पछिल्लो वर्ष कोरोना महामारीका कारण निरन्तर फिल्म क्षेत्र ओरालो लागेपछि कलाकार व्यवसायमा सक्रिय हुने चलन बढ्दै गएको छ। पछिल्लो समय नेपालका कलाकारले होटल व्यवसायदेखि क्याफेलगायत क्षेत्रमा लगानी गरिरहेका छन्।
नेपाली चलचित्र क्षेत्रकी सदाबहार र निकै सक्रिय अभिनेत्री करिष्मा मानन्धरको व्यवसाय अर्को प्रमुख पाटो हो। राजनीतिमा सक्रिय भएकी उनी कलाकारितासँगै व्यवसायमा पनि सक्रिय छिन्। पछिल्लो समयमा उनी विश्वव्यापी विद्युतीय ब्राण्ड ‘इन्टेकस’को सामान नेपाल ल्याएर व्यवसायमा जोडिएकी छिन्। उक्त ब्राण्डसँगै जोडिँदा करिष्माले गरेको पत्रकार सम्मेलनमा आफूले अभिनयसँगै व्यवसायमा पनि हात हालेको र नेपाली दर्शकले अभिनयमा माया गरेजस्तै व्यवसायमा पनि माया गर्ने बताएकी थिइन्।
हाल उनले ‘रिसिक ट्रेडिङ कन्सर्न’ नामक कम्पनीमार्फत इन्टेक्सका विद्युतीय सामग्रीको व्यापार गरिरहेकी छिन्। पछिल्लो समय प्रर्दशनमा आएको चलचित्र ‘एक’बाट चर्चामा आएका अभिनेता प्रमोद अग्रहरीको कलाकारिता बाहेकको अर्को पाटो हो– मिठाई व्यवसाय। उनले हालसालै आफ्नो गृहजिल्ला नवलपरासीमा ‘अमृतम् स्विट्स’ नाममा मिठाई पसल खोलेका छन्। तिहारको छेको पारेर सुरु गरिएको व्यवसायलाई विस्तारै अन्य ठाउँमा पनि फैलाउँदै लैजाने अग्रहरीको भनाइ थियो।
अभिनेता सञ्जोग कोइराला एक सफल व्यवसायी पनि हुन्। बाल्यकालबाट नै अभिनय सुरु गरेका उनले पछिल्लो समयमा खेलेको फिल्म ‘कथा काठमाडौं’ हो। अभिनयको पाटोबाट संजोगले‘कथा काठमाडौं’, ‘उत्सव’लगायतका फिल्मसँगै थुप्रै म्युजिक भिडियोमा काम गरेका छन्। व्यावसायिक रुपमा भने सञ्जोगले थुप्रै क्षेत्रमा हात हालेका छन्। सीएका विद्यार्थी रहेका उनी काठमाडौंमा रेष्टुरेन्टदेखि इन्टेरियर डिजाइनिङजस्ता क्षेत्रमा व्यवसाय गरिरहेका छन्। उनी ‘बिजनेपा’ नामक कम्पनीका प्रमुख कार्यकारी हुन भने दरबारमार्गस्थित ‘ह्यासटग लाउन्ज’का प्रमुख पनि हुन्।
त्यसबाहेक उनले केटीएम क्याफे, आइसक्रिम लाइभ तथा हाइम्याक नेपाल नामक रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छन्।अभिनेत्री श्वेता खड्का कलाकारितामा पछिल्लो समय धेरै सक्रिय छैनन्। सामाज सेवासँगै व्यवसायमा भने उनको सक्रियता उत्तिकै छ। श्वेताले दरबारमार्गको राइजिङ मलमा ‘हिमालयन जाभा’ क्याफे सञ्चालन गरिरहेकी छन्। क्याफेसँगै उनले पुतलीसडकस्थित स्टारमलमा ‘ट्रिकी एण्ड पिंक्सी’ नामक ट्रेनिङ सेन्टर र ‘अल्टिमोडिल’ नामक अनलाइन सपिङ व्यवसाय पनि सञ्चालन गरिरहेकी छिन्।
अभिनेत्री नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन्। उनले ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्ता थुप्रै सफल सिनेमा दिइसकेकी छिन्। अभिनयमा सफल नम्रताको व्यावसायिक पाटो भने रेष्टुरेन्ट र फिल्म निर्माणमा छ।
ज्ञानेश्वरमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालन गरिरहेकी उनले ‘सोल सिस्टर’ र ‘जाइरा’ नामक फिल्म पनि निर्माण गरेकी छिन्।
‘भद्रगोल’ टेलिशृंखलामा सफल अभिनय गरेका कलाकार मधुसुदन पाठक (सिते बा)को व्यावसायिक पाटो भने अरु कलाकारको भन्दा फरक छ। उनको अभिनयलाई धेरैले रुचाएका छन्। पर्दामा अग्र्यानिक अभिनय गर्ने पाठकले व्यावसायिक रुपमा पनि अग्र्यानिक फार्म खोलेका छन्। काठमाडौंको टोखामा उनले ‘सिते बा अग्र्यानिक फार्म’को नामबाट कृषि फार्म सञ्चालन गरिरहेका छन्।
यी बाहेक नेपाली फिल्म क्षेत्रमा सक्रिय अन्य कलाकार पनि व्यवसायमा सक्रिय छन्। अभिनेता सरोज खनाल, अभिनेत्री पवित्रा आचार्य, अभिनेत्री वर्षा राउत, केकी अधिकारी, वर्षा सिवाकोटीलगायत कलाकार पनि व्यवसायमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।